काठमाडौं, २६ फागुन । प्रहरीले सुन तस्करी गर्ने संगठित गिरोह पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले सुन तथा चाँदी तस्करलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सुन तस्करीमा लगानी गर्नेदेखि भरियासम्म छन्। तस्करीको सुन बोक्ने भरियामात्र पक्राउ गर्दै आएको प्रहरीले लगानीकर्ता पक्राउ गर्न सक्नुलाई ठूलो उपलब्धिका रूपमा लिएको छ।
महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुष्कर कार्कीले अवैध सुन कारोबार धन्दामा संलग्न संगठित व्यक्तिहरू नै पक्राउ परेकाले अब सुन तस्करी घट्ने दाबी गरे।
उनले लामो अनुसन्धान र मेहनतका कारण प्रहरी सुन तस्करी गर्ने संगठित गिरोह पक्राउ गर्न सफल भएको वताए। ‘फरार तस्करहरूको पनि खोजी जारी छ’, कार्कीले भने।
नेपाल प्रहरीले गत माघ २४ गते भारतीय प्रहरीको सहयोगमा बनारसबाट सुन तस्करका नाइके बालकृष्ण अग्रवाललाई पक्राउ गरी काठमाडौं ल्याएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
प्रहरीका अनुसार इलाम घर भई काठमाडौं भोटेबहाल बस्ने अग्रवाल सुन तस्करीमा लगानी गर्नेमध्येका एक प्रमुख हुन्।
प्रहरी नियन्त्रणमा रहेका न्युरोडस्थित युनाइटेड गोल्ड मार्ट नामको सुन पसलका सञ्चालक आकाश बज्राचार्य र अग्रवालले मिलेर सुन तथा चाँदी चोरी पैठारी गर्ने गरेको खुलासा भएको छ।
उनीहरूकै समूहमा रहेर लगानी गर्दै आएका झापा भद्रपुरका सावरमल जोधानी भने फरार छन्। प्रहरीले बिचौलियाको भूमिका निर्वाह गर्ने धरानका विशाल चौधरीलाई पनि पक्राउ गरेको छ।
बिचौलियाहरू श्रीराम चौधरी, जयराज भट र मिलन तामाङ फरार छन्।
सुन बोक्ने भरिया मोहन चौधरी, नन्दकिशोर चौधरी, सत्यनारायण चौधरी, राजाराम चौधरी, प्रवीण तिमिल्सिना र देउता तिमिल्सिना पक्राउ परेका छन् भने अर्का भरिया ध्रुव तिमिल्सिना फरार छन्।
प्रहरीले उनीहरूबाट ठूलो परिमाणमा सुन र पैसा बरामद गरेको छ।















प्रतिक्रिया