काठमाडौँ, २३ फागुन । कसले कविता लेख्दैनन्, पढ्दैनन् र सुन्दैनन् ?, मञ्चबाट कवि तथा पत्रकार रवीन्द्र मिश्रले हात उठाउन आग्रह गर्नुभयो ।
करिव चारसय दर्शक/स्रोताबीचबाट दुईजना सर्वसाधारण महिला जीवन डङ्गोल र नविना श्रेष्ठले हतार हतार हात उठाउनुभयो । ती दुईजना महिलाहरूबाट कवि रवीन्द्र मिश्रको पहिलो कविता सङ्ग्रह ‘रवीन्द्र मिश्रका कविताहरू’को काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा विमोचन गरियो ।
बिबिसी नेपाली सेवाका प्रमुख मिश्र ‘व्यावहारिक परोपकार’ र ‘परोपकारी पत्रकारिता’को अभ्यास र पैरवीसमेत गर्दै आउनुभएको छ । सङ्ग्रहलाई फाइनप्रिन्टले प्रकाशन गरेको हो ।
माया, मिलन, विछोड, पीडा, वेरोजगारी र द्वन्द्वको घाउलगायत समसामयिक विषयलाई समेटिएको सङ्ग्रहमा ११६ कविता समावेश गरिएका छन् । सोही अवसरमा कवि मिश्रले सङ्ग्रहमा समावेश नभएको ‘आमा’ शीर्षकको कविता वाचन गर्नुभयो ।
त्यसैगरी, उहाँले सङ्ग्रहमा समावेश गरिएका ‘मिति भएनौँ भने’, ‘आज राति १२ बजे’, ‘म के हुँ’, ‘चोर र इश्वर’, ‘अपनत्व’, ‘कवितै आएन’, ‘बरू म उपन्यास पढ्छु’, ‘यसरी पढौँ कविता’, ‘मेरो देश’, ‘छोरा छोरीलाई’, ‘कान्दाका चेपाङ’, ‘काठमाडौँ’ र ‘पाप’ शीर्षकका करिव दुई दर्जन कविता वाचन गर्नुभयो ।
कवि नवराज पराजुलीले सङ्ग्रहमा समावेश गरिएको ‘इश्वर’ र ‘के म पत्रकार हुँ’ शीर्षकका दुईवटा कविता वाचन गर्नुभयो । उक्त पुस्तकको लेखकले पाउने सम्पूर्ण लेखकस्व चितवनको कान्दा क्षेत्रका विपन्न चेपाङ समुदायको हितकालागि खर्च गरिनेछ । यसअघि मिश्रका प्रकाशित दुई पुस्तक ‘भूमध्यरेखाःअर्थहीनताभित्र अर्थ खोज्दा’ र ‘खान पुगोस्, दिन पुगोस्’ बाट प्राप्त लेखकस्व पनि सोही समुदायका लागि प्रदान गरिँदै आएको छ ।
सोही अवसरमा साहित्यविद् तथा कवि सनतकुमार वस्तीले कविता सरल वा जटिल हुनु विविधताभित्रको सौन्दर्य हो भन्नुभयो । कवि तथा उपन्यासकार बुद्धि सागरले कविता सङ्ग्रह प्रकाशन गरेर बिक्री हुदैन भन्ने प्रसङ्गमा भन्नुभयो ‘जवसम्म कविता बेच्नका लागि लेखिन्छ तबसम्म विक्दैन’ ।
पछिल्लो पटक जनताको बोली बोल्ने कविता भन्दा पनि प्रचारका लागि मात्र वाचन तथा प्रकाशन गर्ने गरिएको उहाँको गुनासो थियो । प्रकाशक अजित बरालले मिश्रका कविता सरल र पठनयोग्य भएको टिप्पणी गर्नुभयो ।
कवि मिश्रले कविता बिक्री भएन भनेर पाठक वा स्रोतालाई दोष दिनुभन्दा पनि समग्र साहित्यको क्षेत्रमा समीक्षा गर्नुपर्ने बेला आएको छ भन्नुभयो ।















प्रतिक्रिया