– गणेश गिरी
पर्वत, २३ फागुन । पर्वत क्षेत्र नं २ अन्तर्गतका निर्वाचन क्षेत्र विशेष कार्यक्रमका योजनाको काम धमाधम शुरु भएको छ । क्षेत्र विशेष कार्यक्रम अन्तर्गत प्राप्त बजेटको विनियोजन गरे लगतै विकास निर्माणका योजनाहरुको काम शुरु भएको हो ।
नेकपा एमालेको तर्फबाट पर्वत क्षेत्र न. २ मा विजयी भएका सभासद विकास लम्सालले प्राथमिकताका आधारमा योजनाहरुमा रकम विनियोजन गरे लगतै योजनाहरु कार्यान्वयनको चरणमा प्रवेश गरेका हुन ।
सभासद् लम्सालले सहितको जिल्ला स्तरीय योजना छनौट समितिको निर्णयमा सडक, शिक्षा र खेलकुदका लागि चालु आवमा प्राप्त बजेट विनियोजन भएको छ । विनियोजित रकमको पहिलो किस्ता वापतको पेश्कि रकम प्राप्त नभएपनि विकास योजनाको काम शुरु भइसकेका हुन ।
सडक निर्माणका लागि यस बर्ष ६० लाख, शिक्षा तर्फ २५ लाख र खेलकुदका लागि १५ लाख रुपैंया पर्वत क्षेत्र न २ का लागि विनियोजन भएको सभासद विकास लम्सालले जानकारी दिए । विनियोजीत रकम मध्ये मोटरबाटो निर्माणका लागि प्राप्त रकमबाट विभिन्न मोटरबाटोको काम शुरु भएका हुन ।
जिल्लाको दक्षिणीवर्ती गाविस भोर्ले देखि बालाकोट गाविसका नियाली जोडने मोटरबाटोको एक कार्यक्रमका वीच सभासद लम्सालले उदघाटन गरेका छन भने बालाकोटको नियाली ढाङढङगे गुफा हुदै लुंखु गाविस जोडने मोटरबाटोको लम्सालले शिलायान्स समेत गरेका छन ।
उता, लुंखु हुदै बान्द्रे जोडने नयाँ ट्रयाकको काम समेत अगाडि बढिरहेको छ । निर्वाचनको बेला जनताको उच्च माग रहेका कारण आफूले यस बर्षको बजेट नयाँ ट्रयाक खोल्नका लागि उक्त मोटरबाटोहरुमा विनियोजन गरेको सभासद लम्सालले भोर्ले–बालाकोट मोटरबाटोको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै सभासद लम्सालले नयाँ ट्रयाक खोल्ने आफनो कम चाहना भएपनि स्थानीय जनताको माग उच्च रहेको हुँदा आफूले जनताको मागलाई सम्बोधन गरेको जिकिर गरे ।
विकास निर्माणको पहिलो मेरुढण्डको रुपमा रहेको मोटरबाटोबाट स्थानीय उत्पादनलाई ब्यापार गर्नमा स्थानीयले प्रयोग गर्न पर्ने सभासद लम्सालको भनाई थियो ।
पारदर्शी र गुणस्तरीयता योजनाहरुमा हुनुपर्ने बताउँदै लम्सालले आफनो कार्यकाल भरीमा देखिने गरी निकै ठूलो परियोजनाहरु आफनो निर्वाचन क्षेत्रमा शुरु हुने समेत दाबी गरे । कार्यक्रम बालाकोट गाविसको नियालीमा आयोजना गरिएको थियो ।
















प्रतिक्रिया