१ कार्तिक २०८३, आइतबार

राजकीय भ्रमण गराउन नसक्नु सरकारको असफलता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram Baran Yadavकाठमाडौं, २३ फागुन । राष्ट्रपति रामवरण यादव चैतको दोस्रो साता चीन भ्रमणमा जाने निश्चित भएको छ ।

उनी दक्षिण चीनको उष्ण प्रदेशीय टापु हैनानस्थित बोआओ सहरमा चैतको १२ देखि १५ सम्म हुने बोआओ एसिया फोरमको वार्षिक सम्मेलनमा सहभागी हुँदैछन् ।

राष्ट्रपतिको यो दोस्रो चीन भ्रमण हुनेछ । तर यस पटक पनि उनको चीन भ्रमण राजकीय होइन ।

राष्ट्रपति भएयता उनले दक्षिण छिमेकी भारतको तीन पटक औपचारिक भ्रमण गरिसकेका छन् ।

बोआओमा उनले चिनियाँ समकक्षी सी जिनपिङसँग साइडलाइन वार्ता गर्ने भएका छन् ।

यसअघि अक्टोबर २०१० मा सांघाई वल्र्ड एक्स्पोमा सहभागी हुने क्रममा यादवले तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओसँग भेटवार्ता गरेका थिए ।

राष्ट्रपति अहिलेसम्म द्विपक्षीय भ्रमणका लागि भारतबाहेक कतार र कुवेतमात्र पुगेका छन् ।

उत्तर छिमेकबाट समकक्षीस्तरको निमन्त्रणा गराउन नसक्नुलाई सरकारको कूटनीतिक कमजोरी भनेरसमेत विज्ञहरूले विश्लेषण गरेका छन् ।

सन् २००१ मा तत्कालीन राजा वीरेन्द्रले सहभागिता जनाएको मञ्च भएकाले राष्ट्रपति यादवलाई बोआओ सम्मेलनमा पठाउन सरकारले उचित ठानेको अधिकारीहरू बताउँछन् ।

‘राष्ट्रपति यादवलाई पहिले व्यापारिक कार्यक्रममा मात्र सहभागी गराउनु सरकारको कूटनीतिक असफलता हो,’ चीनका लागि नेपाली पूर्वराजदूत राजेश्वर आचार्यले भने ।

आचार्यले राजा वीरेन्द्रको बाआओ सहभागितालाई राजकीय हैसियत दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

‘कूटनीतिक पहल भएमा अहिले पनि राष्ट्रपतिलाई बेइजिङ पुर्‍याएर राजकीय भ्रमण गराउन सकिन्छ । यसो गर्न नसकिँदा हाम्रो कूटनीतिक कमजोरी देखिनेछ,’ आचार्यले भने, ‘अझै समय छ, पहल गर्न सकिन्छ ।’

चीनले भूराजनीतिक स्वार्थ बढदै गएको निकटतम छिमेकमा उच्चस्तरीय भ्रमणका लागि खासै चासो देखाएको छैन ।

जिनपिङले दक्षिण एसियाको भ्रमण गर्दा नेपाल समेटिएन ।

चिनियाँ नेतृत्वले मध्यमतहका नेताहरूलाई चाहिँ बाक्लै पठाएर क्षेत्रीय भूराजनीतिका हिसाबले नेपालमा बेग्लै प्रभाव राख्न खोजेको अधिकारीहरूको बुझाइ छ ।

जिनपिङको सन् २०१५ को भ्रमण सूची सार्वजनिक हुँदा नेपाल कतै उल्लेख छैन ।

अघिल्ला चिनियाँ राष्ट्रपति हु जिन्ताओले आफ्नो दसवर्षे कार्यकालमा पनि नेपाल भ्रमण गरेनन् ।

नेपालले त्यो अवधिमा महत्त्वपूर्ण राजनीतिक परिवर्तन गुजारेको थियो ।

चिनियाँ राष्ट्रप्रमुखबाट नेपाल भ्रमण नभएको १८ वर्ष बितेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत साउनमा औपचारिक भ्रमण गरी नेपालसँगको यस्तै कूटनीतिक असन्तुलन अन्त्य गरेको कान्तिपुर दैनिकले छापेको छ ।

प्रधानमन्त्री भएलगत्तै उनले छिमेकसँगको सम्बन्धलाई कूटनीतिक प्राथमिकतामा राखे ।

जिनपिङले पनि परिमार्जित छिमेक नीति सार्वजनिक गरिसके ।

तर त्यसको प्रत्यक्ष असर नेपालमा पर्न सकेको छैन ।

राष्ट्रपति भएको करिब दुई वर्षमा उनले एसियाका नेपालबाहेक दर्जनभन्दा बढी मुलुकको भ्रमण गरिसकेका छन् ।