१३ कार्तिक २०८३, शुक्रबार

सराङ्कोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो, ५२ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bus-Accident-in-sarankot

काठमाडौँ, २२ फागुन । कास्कीको गुन्टेचौरबाट पोखरातर्फ आइरहेको ग १ ख ४८४९ नम्बरको बस आज बिहान सराङ्कोटको मगरगाउँमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । यो दुर्घटनामा अन्य ५२ जना घाइते भएका छन् ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिप्रका कास्कीका प्रहरी उपरीक्षक हरि बहादुर पालले दिएको जानकारी अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा कास्कीकोट काउलेका ५० वर्षीय हरि बहादुर खत्री, सोही ठाउँका ४० वर्षीया गोमा लुइँटेल, पोखरा उपमहानगरपालिका–२६ का ५० वर्षीय लेख बहादुर ढकाल, सोही ठाउँका ४५ वर्षीया तारा थापा र १६ वर्षीय दिवस तिमल्सिना रहेका छन् ।

गम्भीर घाइते भएका पोखरा उपमहानगरपालिका–२६ का आठ महिनाका एलिस थापा र वडा नं ६ का २५ वर्षीया सविता खड्कालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको प्रहरी उपरीक्षक पालले बताउनुभयो । गम्भीर घाइते भएका पोखरा उपमहानगरपालिका वडा नं २६ का १८ वर्षीय सुमन थापा र सोही ठाउँका २५ वर्षीय दिन बहादुर ढकाललाई उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको छ ।

“गम्भीर घाइते दुवै जनालाई उपचारका लागि काठमाडौँ लैजाने तयारीमा छौं,” एसपी पालले भन्नुभयो – “हेलिकप्टरको पर्खाइमा छौं ।” अन्य घाइतेहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको बताइन्छ । बस सडकबाट १ सय ५० मिटर तल खोल्सामा खसेको जिप्रकाले जनाएको छ ।