३० आश्विन २०८३, शुक्रबार

७५० मेगावाट क्षमताको पश्चिमसेती जलविद्युत् परियोजना बन्ने निश्चित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

westi_seti

दिपायल, २२ फागुन । लामो समयदेखि विवादमा रहेको पश्चिम सेती जलविद्युत् परियोजना बन्ने पक्का भएको लगानी बोर्ड नेपालले जानकारी दिएको छ ।

लगानी बोर्डका बाह्य मामिला प्रमुख घनश्याम ओझाले परियोजना बन्ने निश्चित भएको बताउनुभएको हो । पश्चिम सेती परियोजना निर्माण गर्ने अनुमति पाएको चिनियाँ कम्पनी थ्रि–गर्जेजले परियोजना निर्माणका लागि कम्पनी दर्ताको प्रक्रिया अगाडि बढाइसकेको उहाँले बताउनुभयो ।

“अब परियोजना बन्ने निश्चित भएको छ” ओझाले भन्नुभयो, “चिनियाँ प्राविधिकहरुको टोलीले मङ्सिरमा परियोजना क्षेत्रको अध्ययन गरिसकेपछि निर्माण गर्न अग्रसर भएको हो ।”

यसअघि सन् १९९४ मा अस्ट्रेलियन कम्पनी स्मेकले ७५० मेगावाट क्षमताको परियोजना निर्माण गर्न नेपाल सरकारबाट अनुमति पाएको थियो । तर स्मेक कम्पनीले लगानी जुटाउन नसकेपछि निर्माण हुन सकेन । सरकारले स्मेकको अनुमति रद्द गरी चिनियाँ कम्पनी थ्रि–गर्जेजलाई अनुमति दिएको छ ।

जमिनको सतहबाट १९५ मिटर उचाइको बाँध निर्माण गरी डोटी, बझाङ, डडेल्धुरा र बैतडीको करिब २५ किलोमिटर क्षेत्रमा जलाशययुक्त बाँध निर्माण गर्ने र नदीको हालको बहाव मार्ग परिवर्तन गरी करिब ६।७ किलोमिटर लामो भूमिगत सुरुङमार्फत पानी निकासा गरी विद्युत् उत्पादन गर्ने गरी स्मेकले अध्ययन गरेको थियो ।

परियोजना निर्माण भएपछि करिब १० हजार जनसङ्ख्या विस्थापित हुने अनुमान गरिएको छ । लामो समयदेखि चर्चामा रहेको पश्चिम सेती परियोजना बन्ने कुरा आएपछि स्थानीयवासीमा फेरि पश्चिम सेतीप्रति आशा पलाएको छ ।

पश्चिम सेती परियोजना स्थानीय जनता र राष्ट्रको हितमा बन्नुपर्ने स्थानियको माग रहेको छ । परियोजनाको ढुवान क्षेत्र लामीखाल गाविसका स्थानीय पूर्व सभासद् हर्कबहादुर सिंहले राष्ट्रिय महत्वको योजना भएकाले पश्चिम सेती निर्माण हुनुपर्ने बताउनुभयो ।

चिनियाँ कम्पनी थ्रि–गर्जेज परियोजना निर्माणका लागि सक्रिय रहेको भए पनि नेपाल सरकारले चासो नदेखाएको सभासद् सिंहले आरोप लगाउनुभयो ।

“राष्ट्रिय प्रसारण लाइन बनाउने विषयमा सरकार तयार हुनुपर्छ” सिंहले भन्नुभयो, “सरकारले उक्त परियोजनालाई महत्व दिनुपर्ने हुन्छ ।” रासस