लमजुङ, २१ फागुन । लमजुङको सोतीपसल स्थित मंगला क्याम्पसमा गत मंगलबार देखि शुरु भएको सप्ताह ज्ञान महायज्ञको आज तेस्रो दिन करिब साँढे १३ लाख रुपैयाँ दान संकलन भएको छ ।
रिस्ती उपत्यका गुणस्तरीय उच्च शिक्षाका लागी लगाईएको महायज्ञमा दिन दिनै दान गर्नेको संख्या बढ्दै गएको जनाईएको छ । महायज्ञको तेस्रो दिन जिता ९ निवासी समाजसेवी लक्ष्मीप्रसाद पौडेलले सबैभन्दा धेरै तिन लाख ५५ हजार रुपैयाँ दान गर्नुभएको छ ।
यस्तै, तान्द्राङ टक्सार ९ खनालबेसीका ऋषिराम खनालले एक लाख एक हजार १५, हेमराज गिरीले एक लाख १५ हजार, रिस्ती १ तनहुँका बलराम सोतीले एक लाख एक हजार एक सय ११ र बाबुराम सोतिले एक लाख एक हजार एक सय ११ रुपैयाँ दान गर्नुभएको छ ।
यस्तै सुर्यपाल ९ सोतिपसलका सुर्यलाल श्रेष्ठ, रिस्तीका सुप्रसाद पौडेल, केदारनाथ सोति, चर्दीका विष्णुबहादुर थापा, क्याम्पसका प्राध्यापक रामजीप्रसाद पाण्डे लगायतले पनि पचास हजार भन्दा बढी दान प्रदान गरेको क्याम्पस प्रमुख विष्णुहरी बास्तोलाले जानकारी दिनुभयो ।
भागवत भाष्कर गुरुदेव पण्डित कमलनयन गौतमले कथा वाचन गर्नुभएको महायज्ञमा दिन दिनै स्थानियबासीको सहभागिता बढ्दै गएको छ । महायज्ञको पहिलो दिन करिब दुई लाख संकलन भएको थियो भने दोस्रो दिन ६ लाख ५२ हजार रुपैयाँ दान संकलन भएको थियो । स्थानियबासीको सहभागिता सँगै महायज्ञमा दान दिनेको संख्या पनि बढेको छ ।
महायज्ञमा दान दिनेलाई विशेष सम्मानका साथै कदरपत्र, बाजागाजाका साथ परिक्रमा, क्याम्पस हातामा शिलालेखमा राख्ने लगायतका सम्मान प्रदान गरिएको महायज्ञ मुल समारोह समितिका संयोजक नवराज न्यौपानेले जानकारी दिनुभयो ।
रिस्ती उपत्यकामा शौक्षिक नेतृत्व गरिरहेको मंगला उमावि र आसपासका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई गाउँ घरमै बसेर उच्च शिक्षाको अवसर प्रदान गर्न महायज्ञ लगाईएको हो ।
मंगला क्याम्पसमा अहिले लमजुङको सुर्यपाल, तान्द्राङ टक्सार, जिता, समिभञ्ज्याङ, रम्घा, तनहुँको रिस्ती, क्यामिन लगायतका गाविसबाट विद्यार्थी अध्ययनका लागी जाने गरेका छन् ।















प्रतिक्रिया