– शेरवहादुर सिंह
भीमदत्तनगर, २१ फागुन । वसन्त ऋतु र नयाँ वर्षको पूर्वसन्ध्यामा रङ्गीन पर्व होलीले सिङ्गो कञ्चनपुर जिल्ला उल्लासमय बनेको छ ।
रङको बहारले सुनसान गाउँदेखि सहरबजार गुल्जार भएका छन् । हरेक वर्ष फागु पूर्णिमामा मनाइने होलीले आध्यात्मिक, सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक महत्व बोकेको छ । होली पर्वको रौनक महेन्द्रनगरमा पनि ह्वातै बढेको छ ।
हरेक उमेर समूहका युवायुवती, महिला, पुरुष तथा बालबालिका होली धुमाधामका साथ मनाइरहेका छन् । यस्तै डडेल्धुराको रुपाल गाविसका वासिन्दाले ४५ पुस्तादेखि आफ्नो परम्परागत रुपाली होलीलाई निरन्तरता दिइरहेका छन् ।
महेन्द्रनगरमा रुपाली होली प्रख्यात मानिन्छ । डडेल्धुराको रुपाल गाविसका बासिन्दा हरेक वर्ष महेन्द्रनगरमा होली समिति गठन गरेर पुस्तौली होलीका रुपमा ख्याति कमाएको रुपाली होलीलाई निरन्तरता दिइरहेका छन् ।
भीमदत्तनगरपालिका–१५ निम्बुखेडास्थित रुपाली समितिका अध्यक्ष एवम् बक्सिङ् खेलका ओलम्पियन डम्बरदत्त भट्टले एकादशीका दिनदेखि रुपाली होली खेलिने बताउनुभयो । “अरु होलीभन्दा हाम्रो हालीको विशेष महत्व छ”, अध्यक्ष भट्टले भन्नुभयो, “अहिले नगर क्षेत्रका सवैजसो ठाउँमा रुपाली होली खेलिरहेका छन् ।”
रुपाल होली समितिका अध्यक्ष भट्टले दिएको जानकारीअनुसार स्थानिय बैजनाथ मन्दिरबाट सुरु गरिने रुपाली होली पूर्णिमाका दिन सोही मन्दिरमा गएर समापन गर्ने चलन रहेको छ । “हाम्रो यहि परम्परा छ, यसलाई निरन्तरता दिइरहेका छौं” अध्यक्ष भट्टले भन्नुभयो ।
जागिर तथा अन्य सिलसिलामा विभिन्न ठाउँमा छरिएर रहेका रुपाल गाविसका वासिन्दा वर्षेनी होली मनाउन एउटै ठाउँमा भेला हुने गरेका छन् । जमघट हुने हुनाले होली पर्वलार्ई भेटघाटको पर्वका रुपमा लिने गरेको समितिका सदस्य भीमदत्तनगरपालिका–१८ गोवरैयाका लोकबहादुर ठकुराठी बताउनुहुन्छ ।
“युवा पुस्ताले रुपाली होलीलाई त्यति चासो दिने गरेको पाइदैन्” उहाँले भन्नुभयो ।
रङ्गीन होलीमा धेरै नै रमाउने रुपाली पुरुष, महिला तथा बालबालिका होली खेलेर सङ्कलन भएको रकम सानातिना विकास निर्माण तथा धार्मिक कार्यक्रमका लागि खर्च गर्ने गर्दछन् । रुपाली होलीमा विशेष गरी होलीकै गीतका माध्यमबाट विभिन्न धार्मिक भजन गाएर रमाइलो गर्ने चलन छ ।
त्यसका साथै होलीको गित सङ्कलन गरेर गाउने फगुवालाई हरेक रुपालीका घरमा विशेष सम्मान दिइने गरेको समितिका अध्यक्ष भट्टको भनाइ छ । “जसको घरमा बिहे र सन्तान जन्मिएको हुन्छ उसले फगुवालाई होलीको मौकामा विशेष भोजन गराउने चलन छ”, उहाँले भन्नुभयो, “यो पम्परागत मान्यतालाई निरन्तरता दिइदै आएको छ ।”
डडेल्धुराको रुपालबाट बसाइँ सरी कञ्चनपुर झरेका झन्डै १५० रुपाल समुदायको परिवार अहिले रुपाली होलीमा छपक्क छोपिएका छन् ।
विसं २०१७ देखि डडेल्धुरा जिल्लाको रुपाल क्षेत्रबाट कञ्चनपुर बसाइँसराइ गर्ने क्रम सुरु भएको थियो । बसाइँसराइसँगै उनीहरुले आफ्ना पर्वलाई समेत निरन्तरता दिने गरेको रुपाली अगुवाहरुको भनाइ छ ।




![s~rgk'/sf] dx]Gb|gu/df ?kfnL xf]nL vf]Nb} 88]Nw'/faf6 a;fO ;/]sf ?kfn ;d'bfosf ;j{;fwf/0fx? . 88]Nw'/fsf] ?kfn uflj;af6 a;fO ;/]sf pgLx?n] $% k':t] xf]nLnfO{ lg/Gt/tf lbPsf 5g . z]/axfb'/ l;+x÷/f;;](https://www.dainiknepal.com/wp-content/uploads/2015/03/1425541780976_SS-Kanchanpur-rupali-holi.jpg)











प्रतिक्रिया