लहान, २१ फागुन । सिरहाको लहान नगरपालिका– १८ भदैया बिसनपुरमा आज बिहान जङ्गली हात्तीको आक्रमणमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय शेरबहादुर खड्काकी करिब ४५ वर्षीया श्रीमती तिलकमाया खड्का रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक चन्द्र राजवंशीले जानकारी दिनुभयो ।
मृतक महिलाको शव परीक्षणका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल ल्याइएको छ ।
बिहान ५ः३० बजेतिर घरदेखि पूर्वतिर रहेको खेतबाट शौचालय गएर घर फर्किंदै गर्दा हात्तीले खड्कालाई लछारपछार गरेर मारेको स्थानीय दिलीप साहले जानकारी दिनुभयो ।
साहका अनुसार हात्तीले खड्कालाई मारेपछि घरमा रहेको गोठबाट गाईबस्तु सार्दै गरेकी मालतीकुमारी साहलाई आक्रमण गर्न खोज्दा साहले भागेर ज्यान जोगाएकी छन् ।
कोसी टप्पु क्षेत्रबाट आएको आशङ्का गरिएको हात्तीलाई गाउँलेले जङ्गलतिर लखेटेका छन् ।















प्रतिक्रिया