चौतारा, २० फागुन । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ सिन्धुकोटमा गोप्यरुपमा गर्न लागिएको बालविवाहलाई प्रहरीको हस्तक्षेपमा रोकिएको छ ।
उमेर नपुगेको बालिका र केटाबीच विवाह हुँदै गरेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मेलम्चीले हस्तक्षेप गरी सबैलाई पक्राउ गरिएको प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।
कक्षा ८ मा अध्ययनरत मेलम्ची नपा–४ सिन्धुकोट की १४ वर्षीया बालिका र इचोक–६ महाँकाल निवासी १९ वर्षीय करण रसाईलीबीच आज विवाह हुँदै गर्दा विवाह मण्डपमै गएर प्रहरीले हस्तक्षेप गरी रोकेको हो ।
उमेर नपुगेका बालिका र युवकबीच विवाह हुँदैछ भन्ने स्थानीय अधिकारकर्मीले गोप्य सूचना दिएपछि प्रहरी नायब निरीक्षकको नेतृत्वमा गएको १७ जनाको टोलीले हस्तक्षेप गरेको छ ।
पक्राउ पर्नेमा दुलाहा दुलहीको अभिभावक, लमी र पुरोहितसमेत रहेका छन् । उनीहरूसँग बयान लिने काम भइरहेको छ । उनीहरूमाथि मुलुकी ऐन बिहेवारीसम्बन्धी महलअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।















प्रतिक्रिया