– सन्दिप भट्ट
भरतपुर, २० फागुन । नेपालमा पहिलो पटक वन्यजन्तुहरुको उपचारका लागि वन्यजन्तु अस्पताल चितवनको पर्यटकीय नगरी सौराहा शिलन्यास भएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको पहलमा कोषको सौराहा स्थित कार्यालय नजिक अस्पतालको नयाँ भवनको बुधवार एक समारोहका बीच वन तथा भू-संरक्षण मन्त्री महेश आचार्यले शिलन्यास गरेका हुन् ।
नयाँ भवनको नेपाली वैदिक पूजाआज सहित मन्त्री आचार्यले शिलन्यास गरेका थिए । सो अवसरमा सम्बोधन गर्दै मन्त्री आचार्यले वन्यजन्तु संरक्षणका लागि अस्पताल उपयोगी सावित हुने बताए । ‘संरक्षणको यो अभियानमा राष्ट्रपतिले समेत चासो देखाउनुभएको छ’ मन्त्री अचार्यले भने, ‘जौविक विविधता संरक्षणमा समेत अस्पताल अब्बल बन्ने मैले देखेको छु ।’
दुई करोड रुपैयांको पूर्वाधार लागतमा एक वर्षमा अस्पताल निर्माण हुनेगरी बन्न लागेको अस्पताल शिलन्यास भएसगै अस्पताल बन्ने पक्का भएपछि चितवनका संरक्षकर्मीहरु थप उत्साहित देखिएका थिए ।
अस्पताल बनाउन लाग्ने १ करोड रुपैयाँ डेनभर जु अमेरीका र विश्व वन्यजन्तु कोषबाट राष्ट्रिय प्रकृति संरक्षण कोषमा आईसकेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक टिकाराम अधिकारीले बताएका छन् ।
अस्पताल सञ्चालनमा आउनेसगै घाइते र रोगी वन्यजन्तुको उपचारका लागि नेपालमा नै उपचार सहज बन्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले जानकारी दिए ।
‘हात्ती, बाघ, गैँडाजस्ता ठूला वन्यजन्तुको एक्स-रे देखि सम्पूर्ण शरीर परीक्षण गर्ने गरी अस्पताल सञ्चालन हुनेछ’ कुँवरले भने, ‘त्यसका लागि मुभिङ एक्सरे मेसिन तथा क्वारेन्टाइन सम्म उपलब्ध हुनेछ ।
बिरामी अथवा घाइते वन्यजन्तुलाई निको नहुन्जेल अस्पतालमै राखिने र पूर्ण उपचारपछि प्राकृतिक बासस्थानमै लगेर छाडिने सम्मको व्यवस्था पनि अस्पतालबाट हुने चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
यसैबीच, नवलपरासीको कावासोती नगरपालिका १६ मा रहेको डण्डा बजारमा निर्माण गरिएको गैँडाको मूर्तिको बुधबार वनमन्त्री महेश आचार्यले अनावरण गरेका छन् ।
अनावरण कार्यक्रममा बोल्दै मन्त्री आचार्यले समितिले गरेको यो कार्यले समुदायमा आधारित संरक्षणको अभियानलाई थप उर्जा प्रदान गरेको बताए ।
साथै गैँडा निर्माणमा लाग्ने स्थानीय जनतालाई मन्त्री आचार्यले धन्यवाद ज्ञापन गरे । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र अमलटारी उपभोक्ता समितीले उक्त गैंडाको मुर्ती स्थापना गरेको हो ।
यस क्षेत्रको पहिचान गैडा भएकोले पर्यटकीय क्षेत्रको गन्तव्यस्थल पहिचानको अधारका रुपमा गैडाको मुर्ती स्थापना गरिएको हो ।
















प्रतिक्रिया