काठमाडौँ, २० फागुन । नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले गणेशमान सिंहको जन्म शताब्दीका अवसरमा ‘नेपाली काँग्रेस समावेशी प्रशिक्षण’ एक हजार २०० जना पार्टीका महाधिवेशन प्रतिनिधिलाई दिने भएको छ ।
प्रतिष्ठानले २४० वटै निर्वाचन क्षेत्रअन्तर्गतका प्रत्येक क्षेत्रबाट महिला दुई, दलित, आदिवासी/जनजाति, अल्पसङ्ख्यक वा मधेसी वा मुस्लिम वा अपाङ्ग मध्येबाट एक–एक गरी पाँच जना महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षणमा सहभागी गराउने भएको हो ।
कार्यक्रमको जानकारी गराउने उद्देश्यले नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतिष्ठानका संयोजक एवम् नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रशिक्षण देशका विभिन्न सात क्षेत्रमा हुने जानकारी गराउनुभयो ।
प्रशिक्षण आगामी फागुन २४ अर्थात मार्च ८ ९अन्तर्राष्ट्रिय महिला दिवस०का दिन कपिलवस्तुको तौलिहवामा आरम्भ हुने र दुई दिनसम्म चल्ने उक्त प्रशिक्षणमा राप्ती अञ्चलका सबै जिल्ला, लुम्बिनी अञ्चलबाट नवलपरासी बाहेकका जिल्ला र बाँके जिल्लाका १८५ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।
दोस्रो कार्यक्रम फागुन २६ देखि २८ सम्म चितवनको सौराहामा हुने र प्रशिक्षणमा नारायणी अञ्चलका सबै जिल्ला र नवलपरासीका समेत गरी १६० जनाको सहभागीता रहने प्रतिष्ठानले जनाएको छ ।
विसं २००१ सालमा सर्वस्व अपहरणसहितको आजीवन कारावास तोडी भद्रगोल जेलबाट निस्केर भारत प्रवेश गर्नुपूर्व गणेशमान सिंह हिँडेका १० जिल्लामा ‘गणेशमान बलिदान अभियान’ कार्यक्रम चलिरहेको र अभियान यतिखेर स्याङ्जा पुगेको उपसभापति पौडेलले जानकारी गराउनुभयो ।
उक्त क्रममा सिंहले काठमाडौँ, धादिङ, नुवाकोट, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पाल्पा तथा रुपन्देही हिँड्नुभएको थियो । नेपाली जनतालाई रैतिबाट नागरिक बनाएको महत्वपूर्ण दिनका रुपमा फागुन ७ गते सुरु भएको अभियान सिंहको राजनीतिक जीवनको महत्वपूर्ण उत्कर्षका दिनका रुपमा रहेको चैत २६ गते समापन हुनेछ ।
अर्को फरक प्रसङ्गमा उहाँले संविधान लेखनको स्थगित प्रक्रियालाई दलहरुबीच चाँडै सहमति कायम गरी अघि बढाइने जानकारी गराउनुभयो । संविधानसभाको बैठक लामो समय स्थगित राख्न नहुनेमा जोड दिँदै उहाँले भन्नुभयो, “३० दलीय मोर्चालाई वार्तामा आउन सहज होस् भनेर बैठक स्थगित भएको हो त्यो धेरै लम्बिन सक्दैन ।”
त्यसका लागि दलहरुबीच छलफलको क्रम बढेको चर्चा गर्दै उहाँले हिजो काँग्रेस र एमालेबीच र आज बिहान प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको बताउनुभयो । रासस
















प्रतिक्रिया