– राजेन्द्र आचार्य
चितवन, २० फागुन । नेपालमा नै पहिलो पटक वन्यजन्तुहरुको उपचारका लागि वन्यजन्तु अस्पताल चितवनको पर्यटकीय नगरी सौराहा बन्ने भएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको पहलमा कोषको सौराहास्थित कार्यालय नजिक अस्पतालको नयां भवनको आज वनमन्त्री महेश आचार्यले शिलन्यास गर्ने कार्यक्रम रहेको छ ।
दुई करोडको पूर्वाधार लागतमा एक वर्षमा अस्पताल निर्माण हुनेगरी बन्न लागेको अस्पताल शिलन्यास भएसगै अस्पताल बन्ने पक्का भएको हो ।
अस्पताल बनाउन लाग्ने करिब डेढ करोड रुपिया विदेशी सहयोगी डेन्भर जुले सहयोग गरेका छन् ।
अमेरिकी संस्थाको सहयोगमा एक वर्षपछि सञ्चालनमा आउने गरी अस्पताल बन्ने अस्पताल सञ्चालनमा आएसगै घाइते र रोगी वन्यजन्तुको उपचारका लागि नेपालमा नै उपचार सहज बन्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुवंरले जानकारी दिनुभयो ।
हात्ती, बाघ, गैडाजस्ता ठूला वन्यजन्तुको एक्स–रेदेखि सम्पूर्ण शरीर परीक्षण गर्ने गरी अस्पताल सञ्चालन हुनेछ–कुवंरले भन्नुभयो, त्यसका लागि मुभिङ एक्सरे मेसिन तथा क्वारेन्टाइनसम्म उपलब्ध हुनेछ ।
बिरामी अथवा घाइते वन्यजन्तुलाई निको नहुन्जेल अस्पतालमै राखिने र पूर्ण उपचारपछि प्राकृतिक बासस्थानमै लगेर छाडिनेसम्मको व्यवस्था पनि अस्पतालबाट हुने चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
अहिलेसम्म काठमाडौं उपत्यकाका घाइते वन्यजन्तुलाई सदर चिडियाखानामा सामान्य उपचार गर्ने गरिएको छ ।
सामान्य उपचारपछि वन्यजन्तुलाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जको जंगलमा छाड्ने गरिएको छ ।
चिडियाखानामा स्थान अभाव र भेटेरिनरी अपर्याप्त रहेका कारण वन्यजन्तुका लागि आवश्यक सबै उपचार सम्भव नभएका कारण चितवनमा अस्पताल बनाउन लागिएको निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले जानकारी दिनुभयो ।
घरपालुवा जनावरका लागि अस्पताल निर्माण भए पनि ठूला वन्यजन्तुको उपचारका लागि अहिलेसम्म व्यवस्थित अस्पताल बनेको थिएन ।
चितवन राष्ट्रिय निकुञ्ज र बाहिरका वन्यजन्तुका लागि सबैभन्दा सहज हुनेछ । चितवनमा नै बेग्लै वन्यजन्तु उद्धार केन्द्र समेत निर्माण हुन लागेको छ ।
चितवनमा अस्पताल निर्माणपछि खतरामा रहेका बंगाली बाघ, गैँडा, हात्ती संरक्षण थप सहज हुने विज्ञहरुको भनाई छ ।















प्रतिक्रिया