काठमाडौँ, १९ फागुन । प्रेस चौतारी नेपाल, रासस शाखाको ‘प्रेस चौतारी रासस पत्रकारिता पुरस्कार–२०७१’ राससका काँकडभिट्टा (झापा) समाचारदाता चन्द्रकला भण्डारीलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।
यस्तै, रासस नेपाली सम्पादन शाखाका वरिष्ठ कार्यकारी सम्पादक सरला सङ्ग्रौलालाई शाखाले सम्मान गर्ने निर्णय गरेको छ ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय पार्षद् रहनुभएका समाचारदाता भण्डारी विसं २०६६ सालदेखि राससमा कार्यरत हुनुहुन्छ भने वरिष्ठ कार्यकारी सम्पादक सङ्ग्रौला विगत दुई दशकभन्दा बढी समयदेखि राससमा कार्यरत हुनुहुन्छ ।
शाखाका संस्थापक अध्यक्ष प्रकाश सिलवालको संयोजकत्वमा गठित तीन सदस्यीय पुरस्कार चयन समितिको सिफारिसमा सो निर्णय गरिएको हो ।
समितिमा शाखाका अध्यक्ष कालिका खड्का र गत वर्षका पुरस्कार विजेता कावासोती (नवलपरासी) समाचारदाता विद्रोही गिरी सदस्य हुनुहुन्थ्यो ।
आउँदो चैत ३ गते शाखाको स्थापना दिवसका दिन रासस केन्द्रीय कार्यालयमा आयोजना हुने कार्यक्रममा सो पुरस्कार र सम्मान प्रदान गरिनेछ ।
राससका तत्कालीन अध्यक्ष तथा प्रेस चौतारीका पूर्व केन्द्रीय अध्यक्ष बालकृष्ण चापागाईंले रु पाँच हजार प्रदान गरी स्थापित सो पुरस्कारको कोषलाई निरन्तरता दिन रासस अन्तर्राष्ट्रिय शाखाका प्रमुख सुरेन्द्र नेपालीले सहयोग गर्दै आउनुभएको छ ।
विसं २०६९ देखि प्रदान गरिएको सो पुरस्कार पहिलो पटक रासस अङ्ग्रेजी सम्पादन शाखाका तत्कालीन प्रमुख तीर्थप्रसाद भट्टराईलाई प्रदान गरिएको थियो । रासस
















प्रतिक्रिया