२ कार्तिक २०८३, सोमबार

स्वाइन फ्लुको नियन्त्रण गर्न पूर्ण तयारीमा लाग्यो सरकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khagaraj Adhikariकाठमाडौँ, १८ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले स्वाइन फ्लुको उपचारको लागि डेढ महिनालाई पुग्ने औषधि मौजदात रहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, “अहिले हामीसँग साढे सात हजार ट्याब्लेट छ, केही दिनमै १० हजार पुग्छ । बाँकी आवश्यक औषधि दिन डब्लुएचओले प्रतिबद्धता व्यक्त गरिसकेको छ । उपचारमा औषधिको कमी हुँदैन । ”

मन्त्रालयले सबै सरकारी र निजी अस्पताललाई स्वाइन फ्लु बिरामीको उपचार गर्न आइसुलेसन वार्ड बनाउन निर्देशन दिइसकेको जानकारी दिँदै उहाँले पाटन अस्पतालमा पाँच श्ययाकोे आइसुलेसन वार्ड सञ्चालनमा आइसकेको बताउनुभयो ।

पूर्वको काँकडभिट्टादेखि कञ्चनपुरसम्म तालिम प्राप्त प्राविधिकसहित हेल्थ डेस्कको स्थापना गरिसकिएको जानकारी गराउँदै मन्त्री अधिकारीले देशभरीका २५ स्थानबाट सङ्कलन भएका नमुना जनस्वास्थ्य प्रयोगशाला र पाटन प्रयोगशालामा परीक्षण गर्न सकिने उल्लेख गर्नुभयो ।

स्वाइन फ्लु नेपालको लागि नयाँ रोग नभएकाले डराउनुपर्ने आवश्यक नभएको भन्दै उहाँले भन्नुभयो, “अघिल्लो वर्ष ३०० जनामा यो रोग देखिएकामा यसवर्ष ४३ जनामात्रै रहेको छ । यो रोगको मृत्युदर एक प्रतिशत मात्रै छ । मिडियाले जनतामा सचेतता जगाएका छन् । यो राम्रो कुरा हो । रुघा लाग्ने वित्तिकै स्वाइन फ्लु भन्नु आवश्यक छैन ।”