कञ्चनपुर, १८ फागुन । निरक्षरता उन्मूलनका लागि कञ्चनपुरमा ‘एक विद्यार्थी एक निरक्षर’ कार्यक्रम सुरु गरिएको छ ।
यहाँका २९ विद्यालयका कक्षा ९ मा अध्ययनरत दुई हजार विद्यार्थीलाई निरक्षरता उन्मूलनका लागि परिचालन गरिएको छ ।
एक विद्यार्थीले एक निरक्षरलाई अनिवार्य रुपमा साक्षर गराउनुपर्ने लक्ष्य निर्धारण गरिएको जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी पदमराज भट्टले बताउनुभयो ।
विद्यालयमार्फत नै पहिलो चरणमा निरक्षरको तथ्याङ्क सङ्कलनको कार्य गरिएको छ ।
सङ्कलित तथ्याङ्कअनुसार यहाँ सात हजार ३०५ महिला र दुई हजार ८०४ पुरुष निरक्षर रहेका छन् ।
“सङ्कलित तथ्याङ्कका आधारमा विद्यार्थीलाई निरक्षरलाई साक्षर गराउन परिचालन गरेका छौँ”–शिक्षा अधिकारी भट्टले भन्नुभयो ।
पहिलो चरणमा दुई हजार निरक्षरलाई साक्षर गराउने र क्रमशः अन्य निरक्षरलाई समेत साक्षर गराउने शिक्षा कार्यालयले लक्ष्य निर्धारण गरेको छ ।
विद्यार्थीले निरक्षरलाई साक्षर गराएबापत प्रयोगात्मक विषय शिक्षा र स्वास्थ्यको २५ पूर्णाङ्कमा १५ नम्बर पाउने छन् ।
यहाँ पहिलोपटक निरक्षर बढी रहेका पाँचवटै नगरपालिका र गाविसमा कार्यक्रम सञ्चालन गरिएको हो ।
यसअघि शिक्षा कार्यालयले स्थापना गरेका सामुदायिक अध्ययन केन्द्र र गैरसरकारी संस्थाको सहयोगमा अनौपचारिक कक्षामार्फत सारक्षता कक्षा सञ्चालन गर्दै आएको थियो ।















प्रतिक्रिया