कामाठाडौं, १८ फागुन । राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री सुशील कोइरालाले सुवर्णशम्शेर स्मृति क्रिकेट रंगशालाको सिलान्यास गरेका छन् ।
सुवर्णशम्शेर अध्ययन प्रतिष्ठानले बुढानीलकण्ठ गाम्चा १७ मा रहेको ९५ रोपनी जग्गा हातामा उक्त रंगशाला निर्माण गर्न लागेको हो ।
प्रतिष्ठानका अध्यक्ष ध्रुव खड्काले ५–७ दिनमा काम थालिने जानकारी दिए । पहिलो चरणमा पर्खाल लगाउने कार्य हुनेछ । त्यसपछि ‘फिलिङ’ गर्ने काम हुनेछ ।
रंगशालाको अनुमानित लागत २५ करोड रुपैयाँ रहेको बताइएको छ । ३ वर्षभित्र उक्त रंगशालाले अहिलेको कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्वरुप पाउने अध्यक्ष खड्काले बताए ।
पूरै निर्माण कार्य सकिन ५ देखि ७ वर्ष लाग्ने अध्यक्ष खड्काले जनाएका छन् ।
रंगशाला बन्ने जग्गालाई गत माघ १२ गतेको क्याबिनेटले प्रतिष्ठानलाई भोगाधिकार दिने निर्णय गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले पर्यटन आकर्षण केन्द्रको ठाउँमा निर्माण हुन लागेको रंगशाला राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गर्दै रंगशाला निर्माणले सो स्थानको अन्य विकासको बाटो पनि खुल्ने बताए ।
प्रधानमन्त्री कोइरालाले निर्माण कार्यमा सरकारले पूरै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।













प्रतिक्रिया