१ कार्तिक २०८३, आइतबार

नसुध्रने भए वीरका कर्मचारीहरू, विरामीले खाने खानामा कोलिर्फमका जीवाणु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bir-hospitalकाठमाडौं, १८ फागुन । राजधानीका प्रमुख सरकारी अस्पतालहरूमा बिरामीलाई खुवाइँदै आएको खाद्य पदार्थमा हानिकारक कोलिर्फमको जीवाणु भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जिम्मेवार अधिकारीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा चलाएको छ ।

‘वीर अस्पताल, प्रसूति गृह र महाराजगन्जस्थित शिक्षण अस्पतालमा बिरामीलाई वितरण गर्न तयार पारिएको खानेकुराको नमुना लिएर प्रयोगशाला परीक्षण गर्दा कोलीफर्म भेटिएको हो’, वाणिज्य विभागका अनुगमन शाखा प्रमुख हरिनारायण बेल्बासेले भने ।

उनका अनुसार वाणिज्य विभागले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग मिलेर अनुगमन गरेको थियो । कोलीफर्मले झाडापखालालगायत रोगहरू उत्पन्न गराउँछ ।

उनका अनुसार अस्पतालले बिरामीलाई निःशुल्क वितरण गरिरहेको दाल, भात, तरकारी र अचारको नमुना जाँच गर्दा कोलिर्फम भेटिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ल्याब परीक्षणले कोलिर्फम भएको पुष्टि गरेपछि प्रसूति गृहका खाना विभाग प्रमुख कुवेर मालाकार र प्रशासन प्रमुख अमर अमात्य, वीर अस्पतालका क्यान्टिन सञ्चालक सुमन गौतमविरुद्ध मुद्दा चलाएको विभागका सहायक प्रवक्ता सुमन धितालले जनाए ।

शिक्षण अस्पतालको खाद्य पदार्थको भने अनुसन्धान जारी रहेको उनले बताए ।

ल्याब परीक्षणमा सबैभन्दा बढी वीर अस्पतालको खानामा कोलिर्फम भेटिएको थियो ।

खाद्य ऐनमा दूषित खाद्य पदार्थ उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई ५ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

विभागले खाद्य ऐन ०२३ को दूषति खाद्यपदार्थ उत्पादन र वितरणअन्तर्गत हदैसम्मको कारबाहीको माग गर्दै जिल्ला प्रशासनमा मुद्दा चलाएको धितालले बताएको कान्तिपुर दैनिकले छापेको छ । ‘कोलिर्फम भेटिनु सरसफाइमा ध्यान नदिएको संकेत हो र अन्य कुनै हानिकारण जीवाणु भेटिन सक्ने सूचक हो’, उनले भने, ‘त्यसैले कारबाहीका लागि प्रक्रिया अघि बढाएका हौं ।’

अस्पतालमा बाहिर देखिने फोहोेर सरसफाइ गर्न निर्देशन दिइएको उल्लेख गर्दै विभागले हाल बजारमा उपलब्ध दैनिक खाद्य पदार्थहरू जुस, पाउरोटी, तेललगायतको अनुगमन गरिरहेको जनाएको छ ।