२ कार्तिक २०८३, सोमबार

स्वचालित हाजिरी हुने ‘एटेण्डेन्स सिस्टम’ बजारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hajiri

– सन्दिप भट्ट

भरतपुर, फागुन १७ । एम्बेडेड सोलुसन नेपाल प्रालिले विद्यार्थीहरुको सुरक्षा तथा हाजिरी व्यवस्थापनका लागि ‘स्मार्ट एटेण्डेन्स सिस्टम’ बजारमा ल्याएको छ ।

एम्बेडेड सोलुसनका प्रबन्ध निर्देशक कृष्ण पोखरेलले उक्त सफ्टवयरको बारेमा जानकारी गराएका छन् । स्मार्ट कार्डमा आधारित हाजिरी प्रविधिको प्रयोग गरी विद्यार्थी तथा शिक्षकहरुको हाजिरी स्वचालित रुपमा रेकर्ड गर्न सकिने पोखरेलले जानकारी दिए ।

हामीहरु आधुनिक समयमा पनि पुरानै परम्परागत तरिकाले हाजिरी व्यवस्थापनमा चल्नु परेको भन्दै पोखरेलले नयाँ प्रविधिको विकास गरिएको बताए । रजिस्टरमा हाजिर गरेपछि विद्यार्थीहरु दिनभरी कक्षामा छन् वा छैनन् भन्ने बारेमा अभिभावक तथा शिक्षकलाई जानकारी नहुने भएको कारण आफुहरुले नयाँ प्रविधिको विकास गरेको पोखरेलको भनाइ थियो ।

स्मार्ट एटेण्डेन्स नाम दिइएको उक्त सफ्टवयरबाट विद्यार्थीहरु कक्षा कोठामा प्रवेश गर्दा र निस्किएको समयको बारेमा जानकारी हुने छ । विद्यार्थीहरु कक्षामा आएको र कक्षाबाट निस्किएको बारे उक्त सफ्टवयरको माध्यमले उनीहरुको अभिभावकको मोबाइलमा निशुल्क रुपमा एसएमएस पठाउने व्यवस्था भएको पोखरेलले बताए ।

रेडियो फ्रिक्वेन्सी कार्डको माध्यमबाट विद्यार्थीको हाजिर हुने र विद्यार्थी विद्यालयमा नआएको अवस्थामा उनीहरुको अभिभावकलाई मोबाइलमा जानकारी हुने पोखरेलले जनाए ।

उक्त सफ्टवयर जडान गर्नको लागि १५ हजार रुपैयाँ खर्च लाग्ने तथा स्मार्ट कार्डको लागि प्रति कार्ड सय रुपैयाँ लाग्ने पोखरेलले बतााए । यस प्रविधिको प्रयोगबाट विद्यार्थीहरुमाथि निगरानी गरी उनीहरुलाई सुरक्षा दिन र अनुशासनमा राख्न सकिने बताइएको छ ।

यो प्रविधिको प्रयोगबाट विद्यार्थी अपहरण हुने हत्या हुने घटनामा समेत कमी आउने कम्पनीले दावी गरेको छ ।

भारतको आईटी कलेजमा अध्ययन गरेर नेपाल फर्केका कृष्ण पोखरेल, विशेष सिग्देल, निश्चित गौतम गरी तीन जना इलेक्ट्रोनिक्स तथा कम्युनिकेशन इन्जिनियर र सुवाष पोखरेल र सुजन श्रेष्ठ दुई जना ओभरसियरले ६ महिना लगाएर उक्त प्रविधिको विकास गरेका हुन् ।