– इन्दु केसी
सुख्खड(कैलाली), १६ फागुन । कैलालीको घोडाघोडी ताल क्षेत्रमा हरिहाँसको सख्या बढेको छ । गणनाका क्रममा हाँस प्रजातिको हरिहाँसको संख्या बढेको पाइएको हो ।
यसवर्ष गणना गर्दा तालमा हरिहाँसको संख्या ३ सय ५७ भेटिएको हो । गत वर्ष तालमा हरिहाँसको संख्या २ सय ५७ रहेको थियो । हरिहाँस सीमसार क्षेत्रको सुचक प्रजातिको चरा हो । सीमसार क्षेत्रमा बिगत २ बर्षदेखि चरा संरक्षण नेटकर्वले चरा व्यवस्थापनमा सुधार र कृतिम रुपमा चराको प्रजनन केन्द्रमा ध्यान दिंदै आएको छ ।
घोडाघोडी तालमा पानिको मात्रा बढी भएकाले हरिहाँस लगायतका चराहरको वासस्थान वन्दै आएको छ । चराहरुले घोडाघोडी ताललाई आफ्नो प्रजनन केन्द्र बनाएको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले बताउनुभयो ।
चरा संरक्षण नेटवर्क कैलालीको आयोजनामा घोडाघोडीमा गरीएको गणनाबाट हरिहाँस, मगर गोहि तथा बचेरासहित नाडुल हाँस भेटिएको हो । नेपालमा नाडुल हाँसले पहिलो पटक घोडाघोडी ताललाइ आफ्नो प्रजनन केन्द्र बनाएको चराविद हेमसागर बराल बताउनुहुन्छ ।
नादुल हाँस घोडाघोडी तालमा आगन्तुक चराको रुपमा रहेको थियो । अब घोडाघोडी तालमा प्रजनन केन्द्र वनाएपछि नादुल हाँस तालको रैथाने चराको रुपमा चिनिन थालेको चराविज्ञ बरालले बताउनुभयो ।
मुलुकमा ६ प्रजातिका हाँस पाइन्छन् । तराइमा हरिहाँस, सिलसिले, नादुल, नखटा हाँस, सिन्दुरे हाँस लगायतका पाइन्छन् । मुलुककै सर्बाधिक २० वटा सीमसार क्षेत्र रहेको कैलालीमा चराहरुलाई आकर्षित गर्न सकिने सम्भावना रहेको चराविद बरालले भनाइ छ ।
सन् २००२ बाट सुरु भएको नेटवर्क कैलालीले हिउँद र गर्मी याममा गरि बर्षको २ पटक हरिहाँस, मगरगोही, र जंगली धानको अनुगमन गर्दै आएको छ ।
हिउँदे आगन्तुक चराको पहिचान बनाएको नादुलको प्रजनन स्थल दक्षिण भारत हो । यसलाई मध्य एशियाबाट दक्षिण भारत हिउँदमा बसाई सर्ने चराका रुपमा लिइन्छ । यो चराले दक्षिण एशियामा असार महिनादेखि असोजसम्म प्रजनन गर्ने गरेको पाइन्छ ।
दक्षिण भारतमा मंसिरदेखि माघमा प्रजनन गर्ने गरेको पाइएको छ । दक्षिण भारतको जलबायुसित घोडाघोडी तालको पनि मेल खाने भएका कारण यो समयमा चराहरुले प्रजनन गरेको हुनसक्ने नेटवर्कका अध्यक्ष चौधरीको भनाई छ ।
नादुल भाले हाँसको औषत तौल २ किलोदेखि अढाई किलोसम्मको हुन्छ । पोथी नादुल हाँसले एक पटकमा ८ देखि १४ वटा अण्डा पार्ने गर्दछ । २० देखि २५ दिनसम्म ओथारो बस्ने गरेको चराविद बराल बताउनुहुन्छ । चल्लाहरु ५ देखि ६ सातासम्म माउसंगै बस्ने गर्दछन् ।
जैविक बिबिधताको धनी मानिएको घोडाघोडी सीमसार क्षेत्रमा २९ प्रजातिका माछा, ३४ प्रजातिका स्तनधारी प्राणि, ४ सय ५० प्रजातिका बनस्पति र २ सय २६ प्रजातिका चरा पाइन्छन् । घोडाघोडी ताल दुई हजार ५ सय ६३ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
















प्रतिक्रिया