काठमाडौं, १६ फागुन । छैटौं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड खेलकुदको करातेतर्फ केब्स शुक्रबार टिम च्याम्पियन बनेको छ । केब्सले २ स्वर्ण, ३ रजत र १ कांस्य हात पा-यो ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा न्यु लिरा २ स्वर्ण र २ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको इलिट्सले १ स्वर्ण र १ कांस्यमा चित्त बुझायो ।
छात्रमा केब्सका नवराज श्रेष्ठ तथा छात्रामा गान्धी स्कुलकी आयुषा शाही उत्कृष्ट खेलाडी चुनिए ।
विजेतालाई आयोजक समितिका अध्यक्ष हिक्मत थपलिया, प्रतियोगिता संयोजक दोर्जे लामा, रेफ्री संयोजक महेश रन्जितलगायतले पुरस्कृत गरे ।
करातेमा १ सय ६० खेलाडीले ८ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।
उसुमा बुद्ध प्रकाश च्याम्पियन
उसुमा ५ स्वर्ण र १ रजतसाथ न्यु बुद्ध प्रकाश स्कुलले टिम च्याम्पियनको उपाधि उचाल्यो । दोश्रो भएको कुमुडिनी कुञ्ज स्कुलले १ स्वर्ण, २ रजत र ३ कांस्य जित्यो भने बज्रयोगिनी माविले २ रजतमा तेश्रो स्थानमा चित्त बुझायो ।
छात्रमा कुमुडिनीका रविन तामाङ तथा छात्रामा बुद्ध प्रकाशकी मुना शिरिष मगर उत्कृष्ट खेलाडी चुनिए । ३८ खेलाडीले ६ स्वर्णका लागि भिडेका थिए ।
नाम्स सेमिफाइनलमा
आयोजक नाम्सको ‘ए’ र ‘बी’ दुवै टोली नेसनल मेडिकल साइन्स स्कुल दोश्रो उपत्यका विद्यालयस्तरीय ह्यान्डबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नाम्स ‘ए’ ले क्यारिनालाई १५–८ तथा नाम्स ‘बी’ ले जेसिकालाई ९–२ ले हरायो ।













प्रतिक्रिया