१ कार्तिक २०८३, आइतबार

प्रधानाध्यापकको छोराछोरीको विहे भोजका लागि तीन दिन विद्यालय बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

School-In-Nepal-Parsaवीरगन्ज, १५ फागुन । पर्साको सेढवामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रधानाध्यापक जितेन्द्रप्रसाद गौरका छोराछोरीको बिहेभोजका लागि तीन दिन बन्द भएको छ।

सार्वजनिक सूचनै जारी नगरी विद्यालय प्रशासनले बुधबारदेखि शुक्रबारसम्म तीन दिन विद्यालय बन्द गरेको हो।

प्रधानाध्यापक गौरकी छोरीको बिहे बिहीबार भएको छ भने उनका छोराको बिहे बुधबार भएको थियो।

विद्यालयका सबै १४ शिक्षक हेडसरका छोराछोरीको बिहेमा सामेल भएकाले तीन दिन विद्यालय बन्द भएको विद्यार्थीले बताए।
मंगलबार कक्षा सकिने बेला हेडसर गौरले विद्यार्थीलाई आइतबारमात्र विद्यालय आउन निर्देशन दिएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

‘हेडसरले अब आइतबारमात्र स्कुल खुल्छ भन्नुभयो’, कक्षा ९ मा अध्ययनरत विनोद साहले बिहीबार भने, ‘त्यसैले हिजो र आज स्कुल गइनँ। भोलि पनि जानु पर्दैन।’

पर्सा जिशिअका स्रोतव्यक्ति नेपालेन्दु साहले स्रोत केन्द्रस्तरीय निर्णय नभई विद्यालयले सार्वजनिक बिदा दिन नमिल्ने बताए।

यसअघि वीरगन्ज १४ श्रीपुरस्थित माउन्ट एड्मन्ड मावि एक शिक्षकको बिहेभोजका कारण गत माघ १८ गतेदेखि २० गतेसम्म बन्द थियो।

कक्षा चारमा अध्ययनरत एक छात्राले भनिन्, ‘स्कुलमै हाम्रो सरको सादी थियो। त्यसैले तीन दिन पढाइ भएन।’

विद्यालयका प्रधानाध्यापक अनन्तकुमार लालदासले भने मर्मतस भारका लागि तीन दिन विद्यालय बन्द गरिएको दाबी गरे।

त्यस्तै पर्साको लवाहरथकरी ७ खेस्राहामा रहेको हरिहरराज उपाध्याय नेपाल राष्ट्रिय प्राविमा पनि गत माघ १४ गते हेडसरका छोराको टीकाटालोमा सबै शिक्षक गएपछि पढाइ भएन।

प्रधानाध्यापक चेतमनप्रसाद तेलीले भने चिसोका कारण विद्यार्थी कम आएपछि साढे ११ बजे नै विद्यालय बन्द गरेर शिक्षक हिँडेको बताएका थिए।

‘छोराको टीकाटालोका लागि म अलि छिट्टै हिँडेु’, उनले भने, ‘अरू सरहरूचाहिँ साढे ११ बजेपछि हिँड्नुभएको हो।’

पर्साका ग्रामीण इलाकामा विवाहको भोजभतेर, गैरसरकारी संस्थाहरूको शिविर, गोष्ठी, तालिम, राजनीतिक दलका सभा, कार्यकर्ता भेलाजस्ता गैरशैक्षिक कार्यक्रमका कारण स्कुल बन्द हुने गरेको छ।

विद्यार्थीको पठनपाठनमै असर पर्ने गरी विद्यालयमा बिहेको भोजभतेर र राजनीतिक दलको भेला सम्मेलन गर्ने कार्य विकृतिका रूपमा देखिएको अभिभावक संघ पर्साका उपाध्यक्ष महेशचन्द्र गौतमले बताए।

सार्वजनिक छुट्टीबाहेक अन्य दिन विद्यालयमा पठनपाठन बन्द गर्न नमिल्ने भन्दै शिक्षा मन्त्रालयले जिल्ला शिक्षा कार्यालय पर्सामार्फत हरेक विद्यालयमा पत्राचार गरेको रजकले बताए।