काठमाडौँ, १४ फागुन । ढुकुटीबाट ठगिएर सयौं बासिन्दा ‘घर न घाट’को भइरहेको बेला काठमाडौँमा ढुकटी खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । उनीहरुको साथबाट नगद तथा चेकसमेत गरी ४५ लाख रुपैंया पनि बरामद भएको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाले राजधानीको डल्लु आवास क्षेत्रबाट बिहीबार १० जनालाई पक्राउ गरेको हो । नेपालको कानुन अनुसार ढुकुटी अवैध हो । अवैधरुपमा निक्षेप संकलन गरी गैरकानुनी क्रियाकलापमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । अवैधरुपमा ढुकुटी खेलिरहेको भन्ने सूचनाका आधारमा महाशाखाको टोलीले वुधबार साँझ उनीहरूलाई पक्राउ गरेको थियो ।
उनीहरूको साथबाट प्रहरीले ११ लाख नौ हजार ७३५, आठ हजार ७०० भारतीय रुपैयाँ, विभिन्न बैंकहरूको काटिएको चेक ३१ लाख ९७ हजार ५००, ढुकुटी खेलिएको हरहिसाब राखेका विभिन्न व्यक्तिको नामसमेत उल्लेख भएको डायरी र क्याल्कुलेटर बरामद गरिएको छ ।
पक्राउ पर्नेमा सुचित्रा माली, सम्पूर्ण घर्तीमगर, बालकृष्ण घर्तीमगर, सुभाष जिसी, श्वेता राई, बविता भट्ट (सापकोटा), कञ्चन महर्जन, निलम तामाङ, सङ्गीता थापा, साङ्गे शेर्पा रहेका छन् । उनीहरूमध्ये कपाली, राई, घर्तीमगर, भट्टलगायतका व्यक्ति यसअघि पनि सोही अपराधमा पक्राउ परिसकेका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
अवैध रुपमा निक्षेप सङ्कलन गर्नु गैरकानुनी कारोबारको रुपमा मानिन्छ । ढुकटीलाई अवैध घोषणा गरेर त्यसमा सङ्लग्न हुनेलाई कारवाही गरेपनि ढुकुटी खेल्ने क्रम भने रोकिएको छैन ।
















प्रतिक्रिया