-विश्वराज पछल्डङ्ग्या
नेपालगन्ज, १४ फागुन । स्वाइन फ्लुको उच्च जोखिममा रहेको बाँकेमा उपचारका लागि चाहिने औषधि भने एकदमै थोरै मात्रामा छ ।
नेपाल–भारत खुल्ला सीमानाका कारण भारतमा देखिएको स्वाइन फ्लु नेपालमा सजिलै भित्रिन सक्ने खतरालाई मध्यनजरगरी स्वास्थ्य सेवा विभागले बाँकेलाई पनि औषधि पठाएको हो । तर, विभागले पठाएको उक्त औषधि एकदमै थोरै मात्रामा भएको जिल्ला जनस्वास्थ्य कार्यालयका महामारी रोग नियन्त्रण फोकल पर्सन राम वहादुर चन्दले जानकारी दिए ।
स्वाइन फ्लु भनेर चिनिने इन्फ्लुएन्जा ‘ए–एचवानएनवानका संक्रमितलाई खुवाउने ‘टामिफ्लु’ नामक औषधि सरकारसँग एक हजार जनालाई पुग्ने मात्रै रहेको छ । चन्दले भने–‘बाँकेमा ‘टामिफ्लु’ नामक औषधि ६ सय चक्की मात्र छ । एक जनालाई कम्तिमा ८ चक्कीसम्म खुवाउनुपर्ने भएकोले हाल मौजुदा औषधिले करिव ७०÷७५ जनालाई मात्र पुग्ने देखिन्छ ।’
भारतमा जस्तै नेपालमा पनि प्रकोप बढ्दै गए अभाव हुने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । बाँकेमा स्वाइन फ्लुको संक्रमण नदेखिएकोले कम औषधि मगाइएको चन्दले बताए । ‘संक्रमण नदेखिदै औषधि मगाउनुको औचित्य नदेखेर थोरैमात्रामा औषधि मगाइएको हो’–चन्दले भने ।
बजारमा नपाइने यो औषधि सरकारले निःशुल्क निजी तथा सरकारी अस्पताललाई दिँदै आएको छ । हाल उक्त औषधि भेरी अंचल अस्पताललाई दिइएको र माग भए अन्य अस्पताललाई पनि प्रदान गरिने भएको छ । ‘हाल भेरी अंचल अस्पताललाईमात्र औषधि उपलब्ध गराएका छौँ । माग र आवश्यकता परेमा अन्य अस्पताललाई पनि दिइने छ’–उनले भने ।
नेपालमा २० जना स्वाइन फ्लुका संक्रमित फेला परेको पुष्टि भएको छ । स्वाइन फ्लुका विरामीले खाने औषधि भने नेपालमा कम मात्रामा भएको खुलेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग संक्रमितलाई खुवाउने औषधि निश्चित परिणाममा मात्रै छ ।
स्वाइनफ्लुका बिरामीलाई कम्तीमा ५ दिनको डोज दिनुपर्ने र महाशाखासँग २५, ४५ र ७५ मिलिग्राम (एमजी) डोजका औषधि भएकाले बढीमा एक हजार जनालाई मात्रै पुग्ने जनाइएको छ ।
भ्याक्सिन र औषधि खाए स्वाइन फ्लुबाट बच्न सकिन्छः चिकित्सक
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले स्वाइन फ्लु भित्रिन नदिन विशेष सतर्कता अपनाए पनि स्वाइन फ्लु संक्रमण हुन नदिन प्रयोग गरिने भ्याक्सिनको ब्यवस्था गर्नतर्फ ध्यान दिएको छैन । जिल्ला जनस्वास्थ्य कार्यालयसँग संक्रमितको उपचारमा प्रयोग गरिने औषधिमात्र रहेको जनस्वास्थ्य कार्यालयका महामारी रोग नियन्त्रण फोकल पर्सन राम वहादुर चन्दले जानकारी दिए ।
उनले जनसंख्याको अनुपातमा औषधि थोरै भएकोले संक्रमितका लागि मात्र राखिएको बताए । ‘स्वास्थ्य सेवा विभागले पठाएको औषधि एकदमै थोरै भएकोले संक्रमितका लागि राखिएको हो’–उनले भने ।
स्वाइन फ्लु संक्रमण लाग्न नदिनका लागि ‘क्यामी फ्लु’ नामक ट्याब्लेट र ‘इन्फ्लुयन्जा’ नामक भ्याक्सिन लगाउन सकिने भेरी अंचल अस्पतालका फिजिसियन डा. राजन पाण्डेले बताए । ट्याब्लेटभन्दा भ्याक्सिन प्रभावकारी हुने बताउँदै डा. पाण्डेले पहिले नै औषधि खाए संक्रमणबाट बच्न सकिने जानकारी दिए ।
जिल्ला जनस्वास्थ्य कार्यालमा पठाएको स्वाइन फ्लुको औषधि बजारमा किन्न नपाइने सरकारले दावी गरे पनि चिकित्सकले उक्त औषधि बजारमा किन्न पाइने बताए ।
डायवेटिज (मधुमेह) र दमका विरामीलाई इन्फ्लुयन्जा हुने सम्भावना धेरै भएकोले ति रोगका विरामीलाई उक्त औषधि दिइने गरेको डा. पाण्डेले खुलाए । ‘सन् २००९ पछि बजारमा आएका इन्फ्लुयन्जा भ्याक्सिनले स्वाइन फ्लु संक्रमण रोक्न सक्छ’–उनले भने–‘सरकारले चाहेमा भ्याक्सिन ब्यवस्था गर्न सक्छ ।’
















प्रतिक्रिया