२ कार्तिक २०८३, सोमबार

फागुन तेस्रो साता सत्–मार्गको वर्ग प्रशिक्षण शिविर आयोजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १४ फागुन । सत्–मार्ग अभियान नेपालले सुरुवात गरेको मार्ग वर्ग प्रशिक्षण अभियान अन्तर्गत आगामी पञ्चदिवसीय प्रशिक्षण मकवानपुरको हेटौंडामा आयोजना हुने भएको छ ।

हेटौंडामा प्रशिक्षण शिविरको आयोजना गरी व्यक्तिमा व्यक्तित्त्वको विकास गर्न नागरिकलाई नैतिकता, राष्ट्रप्रतिको बफादारिता, धर्म, अध्यात्म, संस्कृति, संस्कार, परम्परा, सभ्यता, मौलिकता आदिको बारेमा ज्ञानविज्ञान मूलक प्रशिक्षण दिँदै नैतिक–चरित्रवान नागरिक तयार गरी राष्ट्रियताको भावनाले अ्रोतप्रोत जनशक्ति उत्पादन गर्ने र नेपाललाई सुदृढ एवम् आत्मनिर्भर राष्ट्रको रूपमा निर्माण गर्ने विषयमा प्रशिक्षण दिइने छ ।

फागुन २० गतेदेखि सुरु हुने शिविर २४ गतेसम्म चल्नेछ । यसै क्रममा हेटौंडा उप-महानगरपालिकाको बस्तिपुर स्थित नैमिषारण्य क्षेत्र श्री सर्वेश्वर भगवान मन्दिर प्राङ्गगणमा प्रशिक्षण शिविर सञ्चालन हुने सो संस्थाका प्रवक्ता दीपक सुवेदीले जानकारी दिनुभयो । प्रशिक्षण भरी प्रशिक्षार्थीहरूलाई शिविरक्षेत्रमै आवासको व्यवस्था गरिएको हुन्छ ।

विहान पाँचबजे जागरण, पाँच पैंतालिस बजेबाट नेपाल आमा वन्दना एवम् एकात्मता स्तोत्र जसमा राष्ट्रिय देवदेवी, तीर्थ, मठमन्दिर, विभूतिपुरुष, विधुषीमातृशक्ति, राष्ट्रभक्तिप्रद पाठ आदि, छ बजेदेखि योगसत्र, नौबजेदेखि बौद्धिक सत्र, बाह्रबजे भोजन, दुईबजेदेखि पुनः बौद्धिकसत्र, चारबजे खेलखुद, साँझ छ बजेबाट अर्को बौद्धिक, राति आठबजे भोजन र नौ बजेदेखि दशबजेसम्म प्रशिक्षार्थीमा भएका प्रतिभाको प्रस्तुति कविता, गीत-संगीत आदिको प्रस्तुति हुनेछ ।

यसरी प्रत्येक दिन विहान पाँचबजेदेखि राति दश बजेसम्म हुने सो प्रशिक्ष शिविर वास्तवमै उपलब्धिमूलक हुने अभियानका राष्ट्रिय प्रमुख प्रवचक नवराज धितालले बताउनुभयो ।

सनातन सभ्यता ओमकार परिवार समुदायमा विशेष महत्त्वपूर्ण रूपमा मनाइने होलीको पर्वको बेलामा सञ्चालन गर्न लागिएको सो प्रशिक्षणमा होली उत्सव पनि शिविरमै विशेष कार्यक्रम गरी मनाइने र झन विशेष प्रकारले होली मनाउन पाइने, होलीको विदा परेको हुनाले विद्यार्थी तथा कर्मचारीको लागि पनि यो विशेष अवसर हुनसक्ने साथै होली छुट्ने पछुतो पनि प्रशिक्षार्थीलाई नहुने प्रवक्ता सुवेदीले बताउनुभयो ।

प्रशिक्षणलाई व्यवस्थित गराउन एकसय भन्दा बढी स्थानीय व्यक्तित्त्वहरूको सहभागितामा विभिन्न समितिहरू गठन गरिएको र सो प्रशिक्षणमा प्रशिक्षण बौद्धिक दिनको लागि विभिन्न विषयका विद्वानहरूलाई आमन्त्रण गरिने अभियानले जनाएको छ ।

यस वर्ष अभियानले नवलपरासीको सुनवल र बाँकेको नेपालगञ्जमा प्रशिक्षण शिविर सञ्चालन गरिसकेको छ । यसपछि बुट्वल, पाल्पा र सिराहको लहानमा प्रशिक्षण वर्ग लगाइने अभियानका संगठन महामन्त्री खेमनाथ आचार्यले बताउनुभयो ।