३० आश्विन २०८३, शुक्रबार

‘बालकृष्ण ढुंगेल बानेश्वरमा खुल्लेआम हिँड्छन्, वामदेव नदेखेझैँ गर्छन्’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bal-Krishna-Dhungel

काठमाडौँ, १४ फागुन । सर्वोच्च अदालतबाट सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका एमाओवादीका पूर्वसभासद् काठमाडौँमा खुल्लेआम हिँड्ने गरेपनि सरकारले नदिएकोझैँ गरेकोमा पीडित परिवारले आपत्ति जनाएका छन् ।

काठमाडौँमा बुधबार आयोजित पत्रकार सम्मेलनमा पीडित परिवारका तर्फबाट उज्जनकुमार श्रेष्ठकी दिदी सावित्रीले भन्नुभयो, ‘बालकृष्ण ढुंगेल केही दिन अघि बानेश्वरको भान्साघरमा भेटिए, सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको व्यक्ति काठमाडौँमै खुल्लेआम हिँड्दा पनि गृहमन्त्री वामदेव गौतम नदेखेझैँ गर्छन् ।’

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न रहेको अभियोगमा ढुंगेललाई सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । सँगै जन्मकैदको फैसला सुनाइएका पुष्कर गौतमलाई प्रहरीले पक्राउ गरी जेलमा हाले पनि ढुंगेललाई भने राजनीतिक आवरणमा उन्मुक्ति दिइएको उज्जनकी दिदी सावित्रीको भनाइ छ ।

Sabitri-Shrestha-dainiknepal-final

‘द्वन्द्वका क्रममा हामीले तीन जना परिवारका सदस्य गुमाउनुपरेको छ, हाम्रो धनसम्पत्ति लुटिएको छ, त्यसका बारेमा ५५ सालदेखि निरन्तर लड्दासमेत सम्बन्धित निकायले कुनै चासो देखाएको छैन, दोषीलाई उल्टै उम्काउने काम गरिएको छ’, पीडित श्रेष्ठले भन्नुभयो, ‘अपराध खुल्लेआम हिँड्दा हामीले असुरक्षित महसुस गरेका छौँ ।’

यसैगरी, २०६२ साल असार १९ गते द्वन्द्वका क्रममा हत्या गरिएका झापाका रमा अधिकारीका दोषीलाई पक्राउ गरी तत्काल कारबाही गर्नुपर्ने माग उहाँका छोरा सञ्जीवकुमार अधिकारीले गर्नुभयो ।

Janak-Raut-dainiknepal-final1

न्यायका लागि द्वन्द्वपीडित समाजका अध्यक्ष जनक राउतले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका लागि जारी भएको कानुन संशोधन गर्नुपर्ने माग गर्नुभयो ।

न्यायका लागि द्वन्द्वपीडित समाज, द्वन्द्वपीडित टुहुरा समाज नेपाल र द्वन्द्वपीडित राष्ट्रिय समाजलगायतका द्वन्द्वको क्षेत्रमा कार्यरत करिब दुई दर्जन सङ्घसंस्था आबद्ध द्वन्द्वपीडित साझा चौतारीले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा अन्य द्वन्द्वपीडित परिवारले द्वन्द्वका क्रममा भएका घटनामा संलग्न हरेक दोषीलाई राजनीतिक संरक्षण हुने गरेको गुनासो गरेका थिए ।