महेन्द्रनगर, १४ फागुन । सिँचाई मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी सावदले एकीकृत नेकपा माओवादीले अराजक आन्दोलनको बाटो अपनाए स्वतः पतन हुने बताएका छन् ।
विहीबार बिहान नेपाल प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री सावदले शान्तीपूर्ण रुपान्तरणमा अघि बढेको एमाओवादीले वार्तालाई छोडेर आन्दोलनमा उत्रिनु उनिहरुकै लागि घातक हुने जिकिर गरे ।
‘एमाओवादीको लाठी लिएर सडकमा जाने निर्णयले उसलाई जनताका नजरमा स्खलन गराउँछ ।’ मन्त्री सावदले भने । एक तिहाई भन्दा कम मत भएका एमाओवादीसहितको ३० दलिय मोर्चाले सहमतीय बाटो त्यागेर सडकमा उत्रिने निर्णयले जनताको मुद्दा अपहरण गरेको उलेख गर्दैै उनले यसका कारण संविधान लेखन जटील भएको बताए ।
‘एमाओवादीका धेरै मुद्दामा हामी लचिलो भएका छौं ।’ मन्त्री सावदले भने, ‘तर एमाओवादी सहमतिका नाममा चोट दिने अभ्यासमा छ ।’ सरकारले सहमतिलाई मुल पाटोमा राखेको उल्लेख गर्दै उनले एमाओवादी वार्तामा नफर्किए प्रक्रियाबाटै संविधान निर्माण गर्ने बताए । ‘सहमतिका लागि पटक पटक प्रयास गरेका छौं ।’
मन्त्री सावदले भने, ‘एमाओवादीले वार्तामा नआए जनतालाई प्रक्रियाबाटै भएपनि संविधान दिन्छौं ।’ सरकारको एक बर्षे कार्यकाल सन्तोषजनक भएको बताउँदै उनले संविधान निर्माणसंगै विकास निर्माणलाई प्राथमिकतामा राखेको जानकारी गराए ।















प्रतिक्रिया