अर्घाखाँची, १४ फागुन । राज्यले अपाङ्गता भएका व्यक्तिलाई बेवास्ता गरेको गुनासो यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले गरेका छन् ।
सिर्जनशील अपाङ्गता सरोकार केन्द्र अर्घाखाँचीको आयोजना र महिला तथा बालबालिकाको कार्यालय अर्घाखाँचीको सहयोगमा भएको अधिवाचन तथा अभिमुखीकरण कार्यक्रममा सरकारले अपाङ्गता भएका व्यक्तिका लागि परिचयपत्रको व्यवस्था गरी विभिन्न सेवा सुविधा दिए पनि त्यो पर्याप्त नभएको गुनासो उनीहरुले गरेका हुन् ।
कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका महिला विकास अधिकृत विष्णुकुमारी लामिछानेले अपाङ्गता भएकालाई महिला तथा बालबालिकाको कार्यालयबाट पाइने सेवा सुविधाबारे जानकारी गराउनुभयो ।
जिल्ला विकास समितिका नासु कमलप्रसाद पोख्रेलले प्रत्येक गाविसमा अपाङ्गता भएका व्यक्तिलाई १० प्रतिशत बजेट छुट्याइनुपर्ने भए पनि उक्त रकम विकास निर्माणमा लगाउने परिपाटी रहेकाले त्यसका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो ।
सिर्जनशील अपाङ्गता सरोकार केन्द्रका अध्यक्ष फर्सुराम पाण्डेले कार्यक्रमको विषय वस्तुमाथि प्रकाश पार्नुभयो ।
जिल्ला महिला तथा बालबालिका कार्यालयका पुष्पा भुसाल, सिर्जनशील विकास केन्द्रका अध्यक्ष विष्णु भुसाल, पत्रकार नवीन केसी र राधा नेपालीलगायतको अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि सदैव लाग्नुपर्ने बताउनुभएको थियो ।
सो कार्यक्रम सुभद्रा अधिकारीको सभापतित्वमा भएको थियो ।















प्रतिक्रिया