काठमाडौं, १३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आक्रामक रुपमा प्रस्तुत हुनुभएको छ । राजधानीमा आयोेजित भातृ संगठन युवा संघ नेपाल मधेस जागरण अभियानको सुरुवात गर्दै अध्यक्ष ओलीले कडा रुपमा प्रस्तुत हुँदै प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीको अन्त्य हुने बताउनुभएको छ ।
उहाँले भन्नुभयो-‘कम्युनिष्टको बेइज्जत गरेर अराजकता मच्चाउने माओवादीको हालत पूर्वराजा ज्ञानेन्द्रजस्तै हुन्छ ।’ अध्यक्ष ओलीले एमाओवादीले आफ्नो शक्ति सकिएपछि अन्त्य हुनेबेलामा छटपटाउन सुरु गरेको बताउनुभयो ।
माओवादीले लाठी जुलुस र मसाल जुलुस निकालेर जनतालाई त्रसित बनाउन खोजेको भन्दै त्यसको प्रतिकार गर्न अध्यक्ष ओलीले आग्रह गर्नुभयो । ‘मलाई लाग्दैन माओवादीको आन्दोलनमा डराउनुपर्ने कुनै कारण छैन्, परिआएको खण्डमा प्रतिकार गर्न तयार हुनुस ।’
माओवादीले पहाडमा जनजाति र तराईमा मधेसीलाई उचालेर जातिय उपद्रो मच्चाउने खोजेको ओलीको आरोप छ । लाठी बोकेर सडकमा उत्रिदैमा जनताले नपत्याउने ओलीको दाबी छ ।
माओवादीका यस्ता क्रियाकलापले जनतामा मनोवैज्ञानिक त्रास सिर्जना भएको भन्दै कुनै पनि त्रास र आतंकबाट नडराउन अध्यक्ष ओलीले आग्रह गर्नुभएको छ ।
सहमति कार्यान्वयनको माग गर्दै पूर्वराजा ज्ञानेन्द्रको भनाईमा टिप्पणी गर्दै अध्यक्ष ओलीले मरेको सर्पले पुच्छर हल्लाएको बताउनुभयो । ‘हामीले सडकबाट र भेट्दा पनि राजतन्त्र फाल्छौं भनेका थियौं। काँधमा हालेर थात्रो राजतन्त्र बोक्छौं भनेर कसैले भनेको थिएन,’ उहाँको टिप्पणी छ ।
उहाँले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले फागुन १६ गते काठमाडौंमा गर्ने जनप्रर्दशनको औचित्य नभएको बताउनुभयो ।
अध्यक्ष ओलीले एमाओवादीको भातृ संगठन वाइसियलले निकालेको भाटे जुलुसलाई ‘विस्थापित हुँदै गएको पीडाको प्रतिविम्व’ हो भन्नुभयो । कम्युनिष्टको नाममा माओवादीले आम नागरिकको बेइज्जत गरेको अध्यक्ष ओलीको आरोप छ ।
















प्रतिक्रिया