काठमाडौ, १३ फागुन । मुलुकमा प्रयोगशाला परीक्षणबाट स्वाइन फ्लु प्रमाणित हुने बिरामीको संख्या बढदै गएपछि भाइरसको स्ट्रेन (जाति) खोज्ने प्रक्रिया सुरु गरिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) मा परीक्षणबाट मंगलबारसम्म स्वाइन प्रमाणित बिरामीको संख्या १० पुगेको हो ।
‘स्ट्रेन (जाति) हाल भारत वा गतवर्ष राजधानीमा देखिएको स्वाइनको भाइरस जस्तै छ कि फरक छ भन्ने कुरा पत्ता लगाउन भाइरोलोजिस्टलाई भनिसकेका छौं’, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले भने, ‘यदि यस पटक पोहोरकै जस्तो भाइरसले संक्रमण देखिएको भए राजधानीवासीमा यसविरुद्घ प्रतिरोधक क्षमता विकसित भइसकेको हुन्छ । र, यस पटक उपत्यकाबाहिर देखिने बढी सम्भावना छ ।’
राजधानीमा गतवर्ष स्वाइन फ्लुबाट १८ जनाको मृत्यु भएको थियो । तीन सय जनामा प्रयोगशाला प्रमाणित संक्रमण देखिएको कान्तिपुर दैनिकले छापेको छ ।
हालसम्मको अवस्थाअनुसार स्वाइन फ्लु संक्रमित सयमध्ये करिब एक जनामा संक्रमण कडा रूपमा देखिने सम्भावना हुन्छ ।
उच्च जोखिम समूहमा रहेकाहरूलाई स्वाइनबाट बचाउन विशेष सावधानी अपनाउनुपर्नेसमेत डा. मरासिनी बताउँछन् ।
अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्यपत्रअनुसार दम, श्वास रोगको समस्या भएकाहरूलाई स्वाइन फ्लुको संक्रमण हुने बढी खतरा हुन्छ ।
मधुमेह, मुटु, कलेजो र स्नायु रोग भएकाहरूसमेत संक्रमणको उच्च जोखिममा रहन्छन् ।
गर्भवती महिला, बूढापाका र पाँच वर्षमुनिका बालबालिकामा संक्रमणको खतरा अन्यको दाँजोमा बढी हुन्छ ।
एचआईभीरएड्स वा अन्य कारणले रोग प्रतिरोधक क्षमता कम भएकाहरू पनि उच्च जोखिममा हुन्छन् ।
‘स्वाइन कडा रूपमा देखिए तुरुन्त स्वास्थ्य केन्द्रमा जचाउनुपर्छ’, डा. मरासिनी भन्छन्, ‘गतवर्ष स्वाइनले मृत्यु भएका सहसचिवसमेत धेरै ढिलो गरी उपचारका लागि आएका थिए ।’
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा. राजेश साह कडा रूपमा स्वाइन संक्रमण देखिएकाहरूमा छिटो उपचारले मृत्युको जोखिम घटने बताउँछन् ।
‘सास लिन अप्ठ्यारो, उच्च ज्वरो, पखालासहित रुघाखोकीको लक्षण देखिँदा चिकित्सकीय सल्लाह आवश्यक हुन्छ’, उनले भने ।
टेकु अस्पतालकै डा। शेरबहादुर पुनका अनुसार एन्टिभाइरल औषधि (जस्तै, ओसेल्टामिभिर अर्थात् टैमी फ्लु, जनामाइवर अर्थात् रेलिन्जा) को उचित मात्राले स्वाइन संक्रमणसित लडन सकिन्छ ।
यो औषधिले भाइरस फैलिन र संख्या बढ्नबाट रोक्छ ।
स्वाइन फ्लु भएको ४८ घन्टाभित्र एन्टिभाइरल औषधिको उपयोगले राम्रो असर देखिन्छ ।
औषधि चिकित्सकको निरीक्षणमा मात्रै लिनुपर्ने डा। पुन बताउँछन् ।
हाल मुलुकमा स्वाइन फ्लुको उपचारमा दिइने एन्टिभाइरल औषधि टैमी फ्लुको १० हजार चक्की स्टकमा रहेको डा. मरासिनी बताउँछन् । हाल भएको औषधिले एक हजार संक्रमितको उपचार गर्न पुग्छ ।
लक्षण
रुघाखोकीजस्तै नाकबाट पानी वग्नु, हाच्छिउ आउनु, खोकी लाग्नु
तिव्र ज्वरो देखिनु, औषधि खाँदासमेत ज्वरो नघटनु,
पखाला लाग्नु, वाकवाकी र वान्ता हुनु
घाटीमा खस खस लाग्नु र यो बढदै जानु, सास फेर्न असजिलो हुनु
तिव्र टाउको दुखाइ, मांसपेसी दुख्नु, धेरै बढी थकाइ लाग्नु
स्वाइन सर्ने तरिका
स्वाइन फलु रुघाखोकी जस्तै स्वास प्रस्वासको माध्यमले सर्छ ।
खोक्दा, हाच्छिउ गर्दा, थुक्दा स्वास प्रस्वासवाट निस्किने पानीको कणहरू वाट संक्रमण हुन्छ । यो कण म्युकस मेम्व्रन भएको अंग नाक, मुख, आँखा आदिवाट शरिरमा सर्छ ।
सांघुरो ठाउमा धेरै व्यक्ति जम्मा हुदा समेत सर्ने सम्भावना बढी रहन्छ । यस्तै सिधा सम्पर्क अर्थात हात मिलाए, अंगालो मारे, म्वाइ खाएर समेत एकवाट अर्को मा सर्छ ।
यति मात्र नभई संक्रमितले उपयोग गर्ने वस्तु जस्तै कम्युटरको किवोर्ड, फोन, ढोकाको हयान्डल, गिलास, वसमा समात्ने वार आदिवाट समेत सर्न सक्छ ।















प्रतिक्रिया