– विश्वराज पछल्डङग्या
नेपालगन्ज, १२ फागुन । पूर्व लागूऔषध प्रयोगकर्ताले थालेको लागूऔषध दुरुपयोग विरुद्ध कलेज/विद्यालयस्तरीय ‘साथीको खोजी’ अभियानमा नेपाल प्रहरीले साथ दिएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालय बाँकेले पूर्व लागूऔषध प्रयोगकर्ताले बाँकेका विभिन्न विद्यालय र कलेजमा आयोजना हुने लागूऔषध दुरुपयोग विरुद्ध बाँकेका विभिन्न विद्यालयमा आयोजना गरिने ‘साथीको खोजी’ अन्तरक्रिया कार्यक्रममा प्रहरीले साथ दिएको हो ।
प्रहरीसँगको सहकार्यमा सहारा हाउसले बाँकेका १२ वटा कलेज र विद्यालयमा साथीको खोजी अन्तरक्रिया संचालन गर्ने क्रममा सामुदायिक प्रहरीले भरपूर सहयोग र सहकार्य गरेको सहारा हाउसका अध्यक्ष अभिराज क्षेत्रीले जानकारी दिए । ‘अपराध नियन्त्रणमा खटिदै आएको प्रहरीले लागूऔषध दुरुपयोग विरुद्ध हामीले थालेको अभियानमा सहयोग गर्दै आएको छ’-क्षेत्रीले भने ।
जिल्ला प्रहरी कार्यालय बाँकेको मातहतमा रहेको सामुदायिक प्रहरी सेवा केन्द्रले कलेज/विद्यालयस्तरिय लागूऔषध, अपराध र असरहरु सम्बन्धि जनचेतनामुलक कार्यक्रममा सहकार्य गरिरहेको केन्द्रका प्रमुख प्रहरी नायव निरीक्षक प्रदिप कार्कीले बताए ।
दश जोड दुई, माध्यमिक र निमावि तहमा अध्ययनरत विद्यार्थीहरु व्यक्तिगत, पारिवारिक र सामाजिक अनुशासन बिपरित क्रियाकलापमा संलग्न हुने गरेको पाइएकाले उक्त उमेर समूहलाई लागूपदार्थ प्रयोगबाट मुक्त गराउन तथा लागूऔषधमुक्त समाजको निमार्णमा प्रत्यक्ष सहभागिता बढाउन लागूऔषध दुब्र्यसन विरुद्धको अभियानमा सहकार्य गरेको कार्कीले बताए । लागुपदार्थ प्रयोग तथा ओसारपसार कार्यलाई न्युनिकरण गर्न अभियानमा साथ दिएको उनको भनाई छ ।
उनले भने–‘सहारा हाउस र अन्य गैरसरकारी संस्थासँगको सहकार्यमा लागूऔषध दुब्र्यसनको जोखिममा रहेका टोल, विद्यालय एवम् कलेजमा सचेतनामुलक प्रशिक्षण दिने तयारी भइरहेको छ ।’
कार्यक्रममा लागूऔषध, यसको उत्पादन, ओसारपसार तथा यसको कारणले समाजमा हुन सक्ने आपराधिक क्रियाकलापका वारेमा जानकारी गराई व्यवहार परिवर्तन गराउनुका साथै लागु औषधमुक्त तथा सुन्दर समाज निमार्णमा सहयोग पुग्ने प्रहरी नायव निरीक्षक कार्कीले बताए ।
उनले भने-‘लागूऔषधको परिमाण र कसुरको आधारमा प्रयोगकर्ता, विक्रेता र ओसारपसारमा संलग्नलाई कारवाही हुने कानूनी प्रावधानका बारेमा पनि सचेतना जगाउने काम भइरहेको छ ।’
सामुदायिक प्रहरी सेवा केन्द्रले चालु आर्थिक वर्षको ७ महिनामा ५३ वटा कार्यक्रम गरेको छ । ती मध्ये ८ वटा लागूऔषध दुब्र्यसनले पार्ने असर, रोकथाम र सजायसम्बन्धि रहेको केन्द्र प्रमुख कार्कीले बताए । ‘हामीले सवैभन्दा धेरै विद्यालयलाई लक्षित गरेका छौं । हाल संचालन भएका ८ वटा मध्ये ६ वटा विद्यालयमा गरिएका कार्यक्रम हुन् ।’















प्रतिक्रिया