– रवि रोषी
दोहा, कतार । कतारको सुप्रसिद्ध अल अहली क्लबले नेपाली फुटबल टिमलाई डेढ दर्जन फुटबल प्रदान गरेको छ ।
नेपाल-कतार खेल क्षेत्रमा मित्रता बढाउने उद्देश्यका साथ अल अहली क्लबका म्यानेजर नासरले उक्त बल नेपाली फुटबल टिमका अध्यक्ष संजीव रानाभाटलाई हस्तान्तरण गरेका हुन् ।
खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा अल अहली क्लवका म्यानेजर नासरले भने–‘नेपाली फुटबल टिमले विगत लामो समयदेखि अल अहली क्लवलाई खेल मार्फत सहयोग गर्दै आएको र खेल प्रतिको अगाध आकर्षणको कारणले गर्दा खेल क्षमता विकासका लागि हामीले खेलकुद सामाग्री सहयोग गरेका हौं ।’
नासरले खेलाडीहरुको आवश्यक अन्य सामाग्री खरिदको लागि चालु महिना देखि नै नियमित नगद पनि दिने बचनबद्धता गरे । ‘हामी नेपाली समुदायसंग लिन मात्र होइन, दिन पनि चाहन्छौं । यो एउटा सानो सुरुवात मात्र हो । नेपाली खेलाडीहरुको खेल सीपलाई अझ बढाउन भोलिका दिनमा क्लबले अझ अन्य भूमिका निभाउन पनि पछि पर्नेछैन,’ नासरले बताए ।
क्लबबाट प्रदत्त मासिक १ लाख २१ हजार ५ सय नेपाली रुपैंयालाई नितान्त प्रशिक्षण समयमा खेल मैदानको लागि दिनुपर्ने मैदानको भाडा, खेलाडीहरुको लागि सन्तुलित आहार, जर्सी, जुराफ, जुत्ता खरिद गरिनुको साथै खेलाडीहरुको लागि खेल समयमा हुने संभावित दुर्घटनाको लागि आर्थिक सुरक्षा प्रदान गर्न खेलकुद वीमामा खर्च गरिने क्लवका अध्यक्ष संजीव रानाभाटले बताए ।
नेपाली फुटबल टिमले यहाँ सम्मको सफलता पाउनुमा खेल प्रेमी तथा कला प्रेमी नेपाली दर्शकहरुलाई श्रेय जाने अध्यक्ष रानाभाटले बताए । अध्यक्ष रानाभाटले नेपाली फुटबल टिममा रहेका फुटबल खेलाडीहरुलाई अबका दिनबाट खेलाडीहरु खेलमा सहभागी भएको गणना अनुसार खेल भत्ता प्रदान गरिने कुरा पनि बताए ।
यसबाट खेलाडीहरुलाई मनोबैज्ञानिक रुपमा हौसला बढ्ने उनको विश्वास छ । लामो समय देखि खेलाडी स्वयं र केहि व्यक्ति विशेषको आर्थिक सहयोगबाट खेल सामाग्रीहरु किन्दै र खेल्दै आएको सो संकटबाट क्लवले मुक्ति पाएको भन्दै अल अहली क्लवका म्यानेजर नासरलाई आभार तथा धन्यवाद व्यक्त गरे ।
‘हाम्रो उद्देश्य भनेको युवा खेलाडीहरुलाई खेलप्रति समर्पित रहन आकर्षण गर्नुको साथै नेपाली खेल क्षमतालाई अन्य मुलुक समक्ष परिचय बाँड्नु हो,’ उनले भने ।
सोही क्रममा खेलाडी तथा अफिसियलहरुको लागि अध्यक्ष संजीव रानाभाट तथा उपाध्यक्ष राजन श्रेष्ठ लगायत क्लबका केहि पदाधिकारीको आर्थिक सहयोगबाट खरिद गरीएको नेपाली फुटबल टिमको लोगो र नेपाल लेखिएको ट्रयाक सुट खेलाडी तथा अफिसियललाई वितरण गरिएको थियो ।















प्रतिक्रिया