काठमाडौँ, १२ फागुन । संवैधानिक निकायका रिक्त पदमा नियुक्तिको सिफारिस गर्न मंगलबार बसेको संवैधानिक परिषद्को बैठक पनि निष्कर्षविहीन भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार बसेको बैठक एमाओवादी अडानका कारण स्थगित भएको हो । एमाओवादीले प्याकेजमै सबै निकायमा नियुक्ति गर्नुपर्ने अडान लिएको थियो ।
“मैले लोक सेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र निर्वाचन आयोगमा रिक्त रहेका पदहरुमा प्याकेजमा नियुक्ति गर्नुपर्छ भन्ने प्रस्ताव राखेँ,” बैठकपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भन्नुभयो, प्रमुख निर्वाचन आयुक्तको नियुक्ति गर्दा पूर्वपदाधिकारीलाई नै निरन्तरता दिएजस्तै लोकसेवा आयोगमा पनि पूर्व पदाधिकारीलाई नै निरन्तरता दिनुपर्छ भन्ने हाम्रो अडान हो ।
परिषद्का यसअघिका दुईवटा बैठक पनि निष्कर्षविहीन भएका थिए । लोकसेवा आयोगमा अध्यक्षसहित सदस्य एवम् अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सदस्य पद रिक्त छन् ।
बैठकपछि परिषद्का सदस्य एवम् सभामुख सुवास नेम्वाङले गम्भीर छलफल भएपनि सर्वसम्मत नभएका कारण नियुक्ति हुन नसकेको बताउनुभयो । उहाँले परिषद्को यही फागनु १४ गते बस्ने बैठकले नियुक्तिका लागि सिफारिस गर्ने बताउनुभयो । परिषद्को बैठकको अध्यक्षता प्रधानमन्त्री सुशील कोइरालाले गर्नुभएको थियो । बैठक तीन घन्टासम्म चलेको थियो ।
















प्रतिक्रिया