काठमाडौ., १२ फागुन । प्रमुख प्रतिपक्ष एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूहरूले सञ्चालन गरेको आन्दोलन शान्तिपूर्ण वा आक्रामक हुने भन्ने सत्तापक्षको रबैयामा निर्भर हुने बताएका छन्।
सत्तापक्षले आफूहरूको आन्दोलनप्रति अवलम्बन गर्ने नीतिका आधारमा प्रतिरोध योजना बनाइरहेका दाहालले आफूलाई कमान्डर र कार्यकर्तालाई सेनाका रूपमा प्रस्तुत गर्दै त्यस्तो धारणा व्यक्त गरेका हुन्।
एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले फागुन १६ गते काठमाडौंमा गर्न लागेको प्रदर्शनसहितको सभालाई प्रभावकारी बनाउन व्यस्त दाहाल सोमबार तामाङ समुदाय, मजदुर र पत्रकारहरूसँगका छुट्टाछुट्टै कार्यक्रममा सहभागी भएका थिए।
सत्तापक्षले बहुमतीय प्रक्रियाबाट संविधान जारी गरेमा त्यसले भयानक र बहुआयामिक द्वन्द्व निम्त्याउने चेतावनी पनि दाहालले दिएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
सहमतिका आधारमा संविधान नबन्ने अवस्थामा संविधानसभाको औचित्य नरहने उल्लेख गर्दै दाहालले त्यस्तो अवस्थामा जसले जित्छ उसले नै संविधान बनाउने अवस्था आउने पनि बताए।
मजदुर बलिदान तथा बेपत्ता योद्धा स्मृति दिवसका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा सोमबार ललितपुरको खन्ना गार्मेन्टमा आयोजित प्रशिक्षणमा दाहालले भने, ‘प्रहरीले लाठी हाने हामी पनि लाठी हान्छौं, त्यो शान्तिपूर्ण हुन्छ।
प्रहरीले गोली हाने हामी सोच्छौं।’
विशाल सेना तयार हुँदै गएको उल्लेख गर्दै दाहालले कमान्डरको हैसियतले सेनालाई निर्देशन दिएको बताए।
उनले राजतन्त्र, कांग्रेस-एमालेलाई विषालु सर्पको संज्ञा दिए। ‘विगतका आन्दोलनमा हामीले एउटा विषालु सर्पको टाउको कुल्चियौं। तर पुच्छरलाई त्यत्तिकै छाड्ने गल्ती गरिएछ। जाडोमा कठ्यांग्रिएको सर्पलाई दूध दिलाउनु हाम्रो भूल भएछ’, उनले भने।
संविधानसभालाई नियमित संसदमा परिणत गर्ने सत्ता गठबन्धनको खेल प्रतिपक्षलाई मान्य नहुने दाहालले बताए।
माघ ८ मा संविधान दिन नसकेपछि कताकता संविधानसभाको औचित्य समाप्त भएको र दोस्रो संविधानसभा पनि पहिलोजस्तै असफल हुने हो कि भन्ने आशंका बढदै जाँदा सत्तापक्षले संविधानसभालाई नियमित संसद्मा परिणत गर्न खोजेको आरोप दाहालले लगाए।
केही सञ्चारमाध्यमका सम्पादकहरूसँग सोमबार काठमाडौंमा कुरा गर्दै दाहालले भने, ‘गणितीय तरबारको धार हामीमाथि झुन्डिरहेको छ। त्यो चलेमा सभाबाट भाग्नु बाध्यता हुनेछ। सत्तापक्षले दोस्रो संविधानसभालाई संविधानसभाको जन्मको कारणलाई अवमूल्यन गरेको छ र गणितप्रधान राजनीतिले मुलुकलाई द्वन्द्वतिर धकेल्ने प्रयत्न गरेको छ।’
‘संविधानसभालाई नै संविधानसभा नै रहन दिऊँ, संसद् बनाएर बहुमतबाट संविधान बनाउने खेल रोकौु’, दाहालले भने।















प्रतिक्रिया