२ कार्तिक २०८३, सोमबार

यसरी मनाए एमाले अध्यक्ष ओलीले ६४ औं जन्मदिन (फोटोफिचरसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli-Birthday01

गणेश पाण्डे

बालकोट (भक्तपुर), ११ फागुन । खैरो रंगको कोट, त्यही रंगको दौरासुरुवाल अनि ‘क्याजुअल’ जुत्तामा सजिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अनुहारमा सोमबार बेग्लै चमक थियो । भक्तपुरको बालकोटस्थित निवासमा पार्टीका नेता कार्यकर्ता तथा शुभचिन्तकबाट घेरिएका ओली मुस्कान र ठट्टासहित फोटो खिचाउनमै व्यस्त थिए । उपहार दिने र दीर्घायुको कामना गर्नेको पंक्ति पनि उत्तिकै थियो ।

अन्य दिनको तुलनामा ओली निकै फुर्तिला र स्वस्थ देखिन्थे । दायाँ हातमा महिनौँदेखि बाँधिएको पट्टि पनि खोलिएको थियो । हात मिलाउन खोज्नेहरुलाई भने उनी नमस्ते फर्काउँथे अनि देब्रे हात दिन्थे ।

ओली निवासमा कार्यकर्ताहरु धुइरिनुको कारण थियो, उनको ६४ औं जन्मदिन । जन्मदिनको अवसरमा शुभकामना दिन बिहानैदेखि कार्यकर्ताको ताँती लागेको हो । दिउँसो साँढे तीन बजे जन्मदिनको ‘केक’ काटेर बाँडिएको थियो । त्यसपछि केहीबेर नाचगान पनि चल्यो । ओली निकै रमाइलो मानी मानी नाचगानमा झुमिरहेका थिए । शुभकामना थाप्ने, नाचगान गर्ने र आगन्तुकहरुका लागि बेग्लाबेग्लै स्थान बनाइएको थियो ।

ओलीलाई शुभकामना दिनका लागि पार्टीका उपाध्यक्ष तथा उपप्रधानमन्त्री वामदेव गौतम, एमालेका सचिवहरु प्रदीप ज्ञवाली र पृथ्बीसुब्बा गुरुङ, स्वास्थ्यमन्त्री खगराज अधिकारी लगायतका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु दिउँसो बालकोट पुगेका थिए । एमालेका पोलिटव्युरो, केन्द्रीय सदस्य तथा जनवर्गीय संगठनका अध्यक्षहरुको भीड पनि उस्तै थियो । शुभकामना दिन पुग्नेहरुलाई भोजको पनि व्यवस्था गरिएको थियो । ओलीले एमाले उपाध्यक्ष वामदेवबाट दिवा भोजको शुभारम्भ गराएका थिए । ओली पत्नी राधिका शाक्यलाई भने शुभेच्छुकहरुलाई भोज खुवाउनमै हतारो देखिन्थ्यो ।

प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले एकातिर पृथ्बीनारायण शाह अनि अर्कोतिर ओलीको फोटो अंकित नेपालको नक्सा ओलीलाई उपहारस्वरुप प्रदान गरेका थिए । पृथ्बीनारायणले नेपालको एकीकरण गरेजस्तै नेपालको एकताका लागि ओलीलाई शुभकामना दिए, अर्यालले ।

सिस्नुपानी नेपालले भने अन्याय अत्याचारविरुद्ध लड्न भन्दै संख उपहार दिएको थियो । ओलीलाई विभिन्न उपहार दिने लहरै देखिन्थ्यो ।
यो पनि पढ्नुहोस्:
एमाले अध्यक्ष ओलीको ६४ औं ‘बर्थडे’ आज: ओलीको इतिहासलाई फर्केर हेर्दा

फोटो फिचर:
Kp-Oli-Birthday-Wife Kp-Oli-Birthday4 Kp-Oli-Birthday3Kp-Oli-Birthday1 Kp-Oli-Birthday2   Kp-Oli-Birthday6 Kp-Oli-WifeKP-Oli-Birthday8  Kp-Oli-Birthday10 Kp-Oli-Birthday11 Kp-Oli-Birthday12  Kp-Oli-Birthday-Party Kp-Oli-Birthday-Rajendra-Aryal1 Kp-Oli-Birthday-Rajendra-Aryal  Kp-Oli-PS-GurungKp-Oli-Birthday9