महेन्द्रनगर, ११ फागुन । संरक्षण चेतना जगाउन कञ्चनपुरको दक्षिणी क्षेत्र रौतेलीविचुवामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
शुक्लाफाँटा बन्यजन्तु आरक्ष सुरक्षाको मुख्य जिम्मा पाएको नेपाली सेनाको गरुडदल गण, शुक्लाफाँटा बन्यजन्तु आरक्ष र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको संयुक्त आयोजनामा सोमबार रौतेलीविचुवा स्वास्थ्य चौकीमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको गरुडदल गणका प्रमुख सेनानी श्रवण कुमार विष्टले जानकारी दिनुभयो ।
प्रमुख सेनानी विष्टका अनुसार ग्रामिण क्षेत्रमा नागरिकहरु स्वास्थ्य सेवाका पहुँच भन्दा टाढा रहेकाले उनीहरुको स्वास्थ्य सुधारका साथै आरक्ष संरक्षणका चेतना जगाउन स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई स्वास्थ्य सेवामा पहुँच पुर्याई ग्रामिण स्तरमै स्वास्थ्यसेवा प्रदान गर्न नेपाली सेनाले थालेको ‘सैनिक नागरिक सम्बन्ध’ कार्यक्र्म अन्तर्गत शिविर सञ्चालन गरिएको हो ।
शिबिरमा नेपाली सेनाले दुई जना चिकित्सक, सिबिल मेडिकल अधिकृत, सेनाकै स्वास्थ्य प्राविधिकका साथै विभिन्न प्रकारका औषधीहरु उपलब्ध गराएको छ । शुक्लाफाँटा बन्यजन्तु आरक्षका सहायक संरक्षण अधिकृत चन्द्र बहादुर चन्दले मध्यवर्ती क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य सेवाका माध्यमबाट संरक्षणमा उत्प्रेरित गराउन समेत शिबिरले सहयोग पुग्ने बताउनुभयो ।
‘मध्यवर्ती क्षेत्रका नागरिकहरुको स्वास्थ्य सुधार भए संरक्षणमा टेवा पुग्छ ।’, उहाँले भन्नुभयो । राष्ट्रिय प्राकृतिक संरक्षण कोषका प्रमुख हेमन्त यादवले ग्रामिण क्षेत्रमा यस्ता शिविरले मध्यवर्ती क्षेत्रका नागरिकलाई संरक्षण प्रति जिम्मेबार बनाउन समेत मद्दत गर्ने बताउनुभयो ।
रौतेलिविचुवा स्वास्थ्य चौकीका प्रमुख रन्जित यादवले शिबिरले दक्षिणी क्षेत्रमा नागरिरुलाई फाईदा भएको बताउनुभयो । ‘यहाँका आर्थिक रुपमा विपन्न समुदायहरुलाई उपचारमा फाईदा भएको छ ।’, उहाँले भन्नुभयो ।
रौतेलिविचुवाका स्थानिय लाल बहादुर रावतले शिबिरबाट लाभ भएको बताउनुभयो । ‘पैसा अभावका कारण बिरामी भएर घरमै बस्ने यहाँका स्थानियहरु शिबिर सञ्चालन भएपछि उपचार गर्न पायौं’ उहाँले भन्नुभयो
रौतेलीविचुवाका महिला अगुवा रामकुमारी रानाले शिबिरबाट यहाँका महिलाहरु बढी लाभाम्वित भएको बताउनुभयो ।
‘ग्रामिण क्षेत्रमा महिलाहरु आर्थिक रुपमा विपन्न छन्, समान्य बिरामी हुँदा बजारमा उपचार गराउन पनि एक हजार भन्दा पनि पैसा खर्च लाग्छ, तर शिबिले महिलालाई फाईदा भएको छ ।’ शिबिरमा ३५० भन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् ।
















प्रतिक्रिया