२९ आश्विन २०८३, बिहिबार

औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा १० करोडको कारोबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pardarnisiकाठमाडौँ, ११ फागुन । करिब रु नौ करोड ५० लाखको आर्थिक कारोवार भई २६औँ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी समापन भएको छ ।

घरेलु तथा साना उद्योग विकास समितिले यही फागुन ६ गतेदेखि भृकुटीमण्डपमा आजसम्म आयोजना गरेको सो प्रदर्शनीमा ६७ जिल्लाका ३१७ उद्यमी प्रतिनिधि सहभागी थिए ।

प्रदर्शनीमा विभिन्न हस्तकलाका सामग्री तथा ढाका कपडा, विभिन्न खानेकुराका साथै प्राङ्गारिक उत्पादनलगायत राखिएको थियो ।

प्रदर्शनीको समापन कार्यक्रममा उद्योग मन्त्री महेश बस्नेतले घरेलु तथा लघु उद्यमलाई प्रोत्साहन गरी स्वदेशी उत्पादन वृद्धि गरी त्यसको उपभोग बढाउन खाँचो रहेको औँल्याउनुभयो ।

उहाँले मुलुकमा रोजगारीको अवसर नभएका कारण युवा शक्ति अहिले विदेशमा गई दुःख गर्न परेको भन्दै उनीहरुले करिब रु छ खर्बको विप्रेषण पठाएका कारण अहिले देशको अर्थतन्त्र चलिरहेको र अब युवा शक्तिलाई उद्यमी बनाएर उद्योगमा आकर्षण गर्न सकेमा मात्र सामाजिक रुपान्तरण सम्भव हुने बताउनुभयो ।

उद्योग मन्त्रालयका सचिव उत्तम भट्टराईले साना उद्योगलाई प्रवद्र्धन गर्न सकेमा आगामी दिनमा राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन सकिने विचार व्यक्त गर्नुभयो ।

द हाइल्यान्ड आर्टका महिला उद्यमी कल्पना लिम्बु तथा अनिता टेक्सटाइल्स हेण्डीक्राफ्टका अनिता तुम्बाले महिला उद्यमीलाई उद्यम सञ्चालन गर्न आवश्यक तालिम तथा अवसर उपलब्ध गराएर परम्परागत सिपलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैबीच प्रदर्शनीमा सहभागी उत्कृष्ट उद्यमीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।