१ कार्तिक २०८३, आइतबार

नेताहरूको गोजीबाट नाम निस्किएपछि एमालेमा विवाद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML_Yemaleकाठमाडौ, ११ फागुन । प्रमुख नेताहरूको विवादका कारण महाधिवेशन सकिएको ८ महिना भइसक्दा पनि एमालेले केन्द्रीय समितिलाई पूर्णता र नेताहरुलाई नयाँ जिम्मेवारी  दिन सकेको छैन ।

मनोनयन र कार्यविभाजनकै एजेण्डामा छलफलका लागि बोलाइएको स्थायी समितिको बैठकसमेत पर सरेको सर्‍यै छ ।

विवाद नमिलेकाले आइतबार बोलाइएको स्थायी समिति बैठक पनि नेतारुको कार्यव्यस्तताको कारण देखाउदै मंगलबारसम्मका लागि स्थगित भयो ।

‘नेताहरु सबै उपस्थित हुने अवस्था रहेन त्यसैले मनोनयनलगायतका एजेण्डामा छलफल भएन’ स्थायी समिति सदस्य छविलाल विश्वकर्माले भने, अब आउदो बैठक (मंगलबारं) यो बिषयमा छलफल हुन्छ, अब धेरै लम्बिदैन ।’

प्रमुख नेताहरुले मनोनयन गर्ने व्यक्ति र कार्यविभाजनका लागि गृहकार्य गरिरहेको उनले जानकारी दिए ।

विधान अनुसार केन्द्रिय र बैकल्पिक गरी १५ जना  केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ ।

१० जना पूर्ण र ५ जना बैकल्पिक केन्द्रीय सदस्यका लागि प्रमुख नेताहरुले आ आफू निकट व्यक्तिहरु अघि सार्न थालेपछि विवाद चुलिएको छ ।

स्रोतका अनुसार अध्यक्ष केपी ओली र माधव नेपाल समूहबीच क कसलाई मनोनयन गर्ने भन्नेमा विवाद छ ।

एउटा समुहले अघि सारेका व्यक्तिलाई अर्कोले अस्वीकार गर्ने गरेकाले सहमति हुन नसकेको नेताहरुले बताएका छन् ।

मनोनित हुने आकांक्षीहरुको संख्या झण्डै एक सय भन्दा बढी छ । एउटै समूहभित्र पनि कसलाई मनोयन गर्ने भन्नेमा नेताहरु पिच्छे फरक मत छ ।

त्यसैले गत आइतबार र सोमबार बसेका दुइटा बैठकले समेत विवाद मिलाउन नसकेपछि अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव इश्वर पोखरेलको समूहलाई नाम तय गर्न जिम्मा दिएको थियो ।

उक्त जिम्मेवारी अनुसार केपी ओलीको निवासमा गत मंगलबार प्रमुख नेताहरुको बैठक बसेको कान्तिपुर दैनिकले छापेको छ । त्यहाँ दुबै पक्षले  आ आफ्ना नाम अघि सारेका थिए ।

ओली पक्षले घनेन्द्र  बस्नेत, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, केदार न्यौपाने लगायतका नाम अघि  सारेको छ  ।

नेपाल पक्षले देवशंकर पौडेल कल्याणी खडका, कोमल भट्टराई,  उषाकला राई , रामकुमार ज्ञवालीलगायतका नाम अघि सारेको छ ।

उपाध्यक्ष वामदेव गौतमले पनि  कृषिमन्त्री हरि पराजुली, राजेन्द्र राईलगायतको नाम अघि सारेका छन् ।

ओली निवासमा भएको छलफलमा व्यक्तिको नाममा कुरा नमिलेपछि नेता नेपाल मंंगलबार नै  पार्टीको काम भन्दै रौतहट हिडेका थिए ।

मनोनयनकै विषय टुंगो लाग्न नसकेपछि नेताहरुको कार्यविभाजनको काम पनि रोकिएको छ  ।

अघिल्लो केन्द्रिय समितिमा रहेका नेताले पुरानै जिम्मेवारी अनुसार काम गरिरहेका छन् ।

यसपटक नया थपिएका केन्द्रिय सदस्यहरु भने कामविहिन जस्तै छन् । कार्यविभाजनका लागि सचिवालयले गृहकार्य भने थालेको छ ।

कसरी जिम्मेवारी विभाजन गर्ने भन्नेमा केही सैद्धान्तिक विषयमा सहमति भइसकेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

६० प्रतिशत नेताहरुलाई भूगोल, २० प्रतिशतलाई विभिन्न फाँट र बाँकी २० प्रतिशतलाई पार्टीका आन्तरिक विभागहरुको जिम्मेवारी दिने तय भएको छ ।

सभासद् नभएका व्यक्तिलाई  भूगोलका इन्चार्ज बनाउने तयारी  भएको छ । सभासद्लाई जिम्मेवारी दिदा स्थानीय कामका लागि समय छुट्टाउन नसक्ने भएकाले अन्यलाई दिने तयारी भएको हो ।

त्यस्तै जिम्मेवारीलाई आवधिक बनाउने पनि तयारीसमेत भइरहेको छ । निश्चित समय तोकेर जिम्मेवारी फेरफेर गर्ने योजना छ ।

एउटै  व्यक्ति लामो समयसम्म एउटै जिम्मेवारीमा रहदा गुटबन्दी बढ्ने सक्ने भन्दै यस्तो विकल्प अघि सार्न लागिएको हो ।