२ कार्तिक २०८३, सोमबार

बाँकेमा स्वाइनफ्लू जाँच गर्ने उपकरण छैन : जनस्वास्थ्य कार्यालय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

doctor

– विश्वराज पछल्डङ्ग्या
नेपालगन्ज, १० फागुन । स्वाइनफ्लू जाँचका लागि बाँकेमा उपकरण नै नभएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

भारतका विभिन्न सहरमा स्वाइनफ्लु भाइरसको संक्रमण फैलिरहेका बेला बाँकेमा भने स्वाइनफ्लू जाँच गर्ने उपकरण नहुँदा स्वाइनफ्लू हो वा होइन भन्ने पत्ता लगाउन नसकिने भएको छ ।

स्वाइनफ्लू संक्रमणको डायग्नोसिसका लागि चाहिने ‘फ्रोड स्वाब’ (घाँटीको खकार जाँच) गर्ने उपकरण नभएका कारण सामान्य रुघाखोकी हो वा स्वाइनफ्लू हो भन्ने पत्ता नलाग्ने भएको छ । यहाँ उपकरण नभएकाले शंकास्पद ब्यक्तिको खकार संकलन गरेर काठमाडौं पठाउनुपर्ने भएको छ ।

घाँटीको खकार जाँच गर्न फ्रोड स्वाब उपकरण आवश्यक पर्ने भए पनि यसले रोकथाम र नियन्त्रणका लागि सहयोग नगर्ने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक नगेन्द्रप्रसाद चौधरीले बताए । ‘बाँकेमा स्वाइनफ्लु संक्रमण देखा नपरेकोले यसको आवश्यकता अझैँ परेको छैन’–उनले भने ।

शंकास्पद विरामीमा देखिएको लक्ष्यण र मेडिकल जाँचबाट पनि स्वाइनफ्लू र सामान्य रुघाखोकीको बारेमा जानकारी लिन सकिने भएकोले पनि उपकरण नभएका कारणा अहिले नै आत्तिनुपर्ने अवस्था नभएको चौधरीले बताए । उनले भने–‘क्लिनिकल जाँचबाट चिकित्सक र स्वास्थ्यकर्मीले स्वाइनफ्लू भए नभएको ९५ प्रतिशत कुरा पत्ता लगाउन सक्छन् ।’

बाँकेमा स्वाइनफ्लू तत्काल भित्रिन सक्ने भएकोले उपकरण पठाउन स्वास्थ्य सेवा विभागसँग माग गरिएको जनस्वास्थ्यले जनाएको छ । औपचारिक रुपमा माग नभएको बताउँदै जनस्वास्थ्य प्रशासक चौधरीले टेलिफोनमार्फत जानकारी गराइसकेको र केन्द्रले छिट्टै पठाउने आश्वासन दिएको जानकारी दिए ।

‘हामीले टेलिफोनबाट ‘फ्रोड स्वाब’ उपकरण पठाउन आग्रह गरेका छौं’–चौधरीले भने–‘एक दुई दिनमा उपकरण बाँके आइपुग्छ होला ।’
चौधरीका अनुसार ‘फ्रोड स्वाब’ उपकरण बाँके लगायत तराईका अन्य जिल्लामा पनि छैन । उपकरण नआउँदै खकार जाँच गर्नुपर्ने भइहाले काठमाडौंमा पठाउने जनस्वास्थ्यले जनाएको छ ।

उपकरण नहुँदा जाँच र उपचारमा कुनै प्रभाव नपार्ने जिल्ला जनस्वास्थ्य कार्यालयका महामारी रोग नियन्त्रण फोकल पर्सन राम वहादुर चन्दले बताए । उनले भने–‘उपकरणले खकारको जाँच गर्नेमात्र हो । यसले उपचारमा कुनै प्रभाव पार्दैन ।’