महेन्द्रनगर, १० फागुन । पश्चिमी सीमा नाका गड्डाचौकीबाट बिनाक्वारेन्टाइन अखाद्य तेल भित्रिने क्रम बढेको छ ।
भारतीय सीमावर्ती बजारबाट खाने तेल बिनाक्वारेन्टाइन नेपाल भित्रिरहेको पाइएको छ । भन्सार नाकाका छलेर क्यारिङमा व्यापारीले सस्तो मूल्य पर्ने तेल भारतीय बजार वनवासाबाट आयात गरी महेन्द्रनगरमा बिक्री वितरण गरिरहेका छन् ।
गुणस्तर जाँचपछिमात्रै तेल आयात गर्नुपर्ने नियम छ । तर खाद्य क्वारेन्टाइनमा जाँच नै केही महिनायता हुन छाडेको खाद्य क्वारेन्टाइन प्रयोगशाला गड्डाचौकीले जनाएको छ ।
“विगत छ÷सात महिनायता परीक्षणका लागि कार्यालयमा तेल आएको छैन”, खाद्य क्वारेन्टाइन प्रयोगशालाका निमित्त कार्यालय प्रमुख आरती भट्टले भन्नुभयो– “मानव स्वास्थ्यका लागि तेलको गुणस्तर जाँच आवश्यक हुन्छ ।”
कञ्चनपुर भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले भने भारतबाट क्यारिङमा सामान ल्याउनेले तेलको गुणस्तर परीक्षण गेरपछिमात्रै भन्सार राजस्व तिर्ने गरेको बताउनुभयो ।
“क्वारेन्टाइनले गुणस्तरीय छ भनेपछिमात्रै तेल आयात गर्न मिल्छ”, प्रमुख भन्सार अधिकृत रेग्मीले भन्नुभयो– “तर क्यारिङ गर्नेले एकाध सिसी घरका लागि भन्दै लुकाइछिपाई लाने गरेको देखिएको छ ।” उहाँले बिनाक्वारेन्टाइन घरका लागि भन्दै लैजाने प्रवृत्तिदेखिएपछि कडाइ गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।
“तीन सयले घरका लागि भन्दै एक/एक सिसी तेल लगेमात्रै ३०० बोतल हुन्छ”, उहाँले भन्नुभयो– “घरका लागि भन्दै बजारमा बिक्री गर्ने गरेको पाइन्छ ।”
त्यसैगरी केही महिनायता बिनाक्वारेन्टाइन लुकिछिपी भारतीय बजारवाट ल्याउँदै गरेको अखाद्य तेल सशस्त्र प्रहरीले सीमामा बरामद गरी नष्टसमेत गर्ने गरेको छ ।
“हालसम्म ३०० भन्दा बढी लिटर खाने तेल नष्ट गरिसकेका छौँ”, गड्डाचौकीस्थित सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक वीरबहादुर रावतले भन्नुभयो– “अझै ६०/७० लिटर नष्ट गर्न वाँकी छ ।” उहाँले भन्सार छलेर एक लिटिरदेखि २० लिटरका बोतल क्यारिङमार्फत भारतबाट ल्याएर महेन्द्रनगरलगायतका बजारमा बिक्री गर्ने गरेको पाइएको जानकारी दिनुभयो ।
भारतीय विभिन्न कम्पनीले उत्पादन गरेका तेल सस्तो मूल्यमा पाउने भएकाले व्यापारीले अखाद्य तेल बिक्री वितरण गर्ने गरेको प्रहरीको भनाइ छ ।
अखाद्य तेलबारे कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष गणेशदत्त जोशीले आफेलाई थाहा नभएको बताउनुभयो । “अखाद्य तेलबारे हामीकहाँ कुनै समस्या आएको छैन” उहाँले भन्नुभयो । रासस















प्रतिक्रिया