महोत्तरी, १० फागुन । किसानको आन्दोलनका कारण उखुको अभावमा एभरेस्ट चिनी मिल रामनगर आज बिहानदेखि बन्द भएको छ ।
उखु उत्पादक कृषक सङ्घ महोत्तरीको अगुवाइमा किसानले बाहिरको जिल्लाबाट उखु बोकी आउने सवारीसाधनलाई मिलभित्र प्रवेशमा रोक लगाएपछि उखुको अभावमा चिनी मिल बन्द भएको छ । शनिबार बिहानदेखि महोत्तरीबाहेक अन्य जिल्लाबाट उखु लिएर आउने ट्रक ट्र्याक्टरलाई मिल प्रवेशमा रोक लगाइएपछि मिल परिसरमा उखुको अभाव भएको कारण मिल बन्द गर्नु परेको मिल प्रशासनले जनाएको छ ।
उद्योगपति तथा उखु उत्पादक कृषक सङ्घबीच भएको निर्णय कार्यान्वयन नगरेको कारण बाहिर जिल्लाबाट उखु बोकेर आउने सवारीसाधनलाई मिल प्रवेशमा अनिश्चितकालीन रोक लगाइएको उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहाले जानकारी दिनुभयो ।
गत माघ २२ गते उद्योग तथा अर्थ मन्त्रालयका सचिवसमक्ष भएको वार्तामा निर्णय कार्यान्वयन गर्नका लागि मिल प्रशासनसमक्ष अनुरोध गर्दासमेत बेवास्ता गरेका कारण आन्दोलनमा उत्रेको अध्यक्ष कुशवाहाले बताउनुभयो । सो वार्ताले एक महिनाभित्र किसानको पेस्की रकम भुक्तानी गर्ने सहमति भएको थियो ।
एभरेस्ट चिनी मिल रामनगरले एकै पटक सम्पूर्ण किसानलाई भुक्तानी गर्न असम्भव भएका कारण दुई महिनाभित्र किसानको पेस्की रकम दिइने मिलका महाप्रबन्धक कृष्णचन्द्र दासले जानकारी दिनुभयो । किसानको आन्दोलनको कारण धनुषा, सर्लाही, सिरहा, रौतहटबाट उखु बोकेर आएको सैकडौँ ट्रक ट्र्याक्टरबीच बाटामै अलपत्र अवस्थामा छन् । रासस














प्रतिक्रिया