२ कार्तिक २०८३, सोमबार

राजनीतिक मतभिन्नताका कारण अनिर्णित अमेरिकी आप्रवास प्रणाली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Americaकाठमाडौं, ९ फागुन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले एकपक्षीय रूपमा दशौँ लाख गैरकानुनी आप्रवासीलाई उनीहरूकै मुलुक फिर्ता पठाउनबाट जोगाउन लिनुभएको पाइला राष्ट्रपतिलाई प्राप्त अधिकारभन्दा बाहिर गएको भनी २६ राज्यले दिएको निवेदनअनुसार टेक्सास राज्यका जिल्ला न्यायाधीश एन्ड्रयु ह्याननले रोक्नुभएपछि राष्ट्रपति ओबामाले आफ्नो आदेशको कार्यान्वयन केही समयका लागि रोक्नुभएको छ ।

अमेरिकी राष्ट्रपति ओबामाको उक्त कार्यकारी अधिकारको प्रयोग रिपब्लिकन पार्टीको बहुमत प्राप्त संसद कङ्ग्रेसको घेराभन्दा बाहिरबाट भएको थियो भने जिल्ला न्यायाधीश ह्याननको आदेशले आप्रवासीहरूको यस मुलुकमा गैरकानुनी रूपमा बसोबास गरिरहेका एक करोड दश लाखभन्दा बढी आप्रवासीको समस्या समाधान गर्ने प्रक्रियालाई अवरुद्ध पारेको छ ।

राष्ट्रपति ओबामाले आफू जिल्ला न्यायाधीश ह्याननको निर्णयमा असहत भएको भनी यसमा पुनरावेदन दिने र यस विषयमा आफ्नो प्रशासन अदालतबाट सही ठहर हुने धारणा राख्नुभएको छ । उहाँले आफ्नो कार्यालय ‘ओभल अफिस’ मा पत्रकारहरूलाई कानुन तथा इतिहास दुबै आफ्नो पक्षमा रहेको दाबी गर्नुभयो ।

उहाँले आफ्नो प्रशासनले न्यायाधीश ह्याननको आदेशलाई पालना गर्ने तथा आफ्नै मुलुक फर्काउनबाट जोगिन चाहेका केही गैरकानुनी आप्रवासीले बुधबारदेखि दिन खोजेका निबेदन लिने कार्य भने केही समयका लागि ढिलो गर्ने बताउनुभएको छ । उहाँले आफ्नो प्रशासन यो कानुनी मुद्दा पूर्ण रूपमा समाधान नभएसम्म आफ्नो आदेशको कार्यान्वयन गर्ने कार्य रोक्न तयार रहेको बताउँदै अमेरिकी आप्रवास प्रणालीलाई बढी व्यापक रूपमा सुधार गर्ने कानुन पारित गर्न कङ्ग्रेसलाई आह्वान गर्नुभएको छ ।

राष्ट्रपति ओबामाले जिल्ला न्यायाधीश ह्याननको प्रारम्भीक निषेधाज्ञाको आदेशका विषयमा न्यु ओरलिन्सस्थित पाँचौँ सर्किट पुनरावेदन अदालतमा न्याय मन्त्रालयले पुनरावेदन दिने बताउनुभएको छ । त्यसो त न्यायाधीश ह्याननले राष्ट्रपति ओबामाको प्रशासनले आप्रवास सम्बन्धी कानुन लागु गरेको विषयमा यसअघि पनि आलोचनात्मक धारणा राख्नुभएको थियो । यसै पनि उहाँले रिपब्लिकनको गढ मानिएको टेक्सास राज्यजस्ता २६ राज्यले दर्ता गराएको मुद्दाकै आधारमा मात्र निर्णय गर्नु नभएको धारणा व्यक्त गरिएको छ ।

रिपब्किन पार्टीको नेतृत्वमा रहेको अमेरिकी कङ्ग्रेसको प्रतिनिधिसभाले राष्ट्रपति ओबामाको आदेशको प्रभाव शून्य भएपछि मात्र गृहराज्य सुरक्षा मन्त्रालयका लागि कोष उपलब्ध गराउने भनी पारित गरेको कानुनका विषयमा विवाद भइरहेको समयमा न्यायाधीश ह्याननले आफ्नो मत व्यक्त गर्नुभएको हो । यस मन्त्रालयले अमेरिकी सीमा, विमानस्थल तथा तटीय जलक्षेत्रमा सुरक्षा प्रदान गर्छ ।

त्यसै पनि टेक्सास राज्यको जिल्ला अदालतको यो निर्णय प्राथमिक मत भएको अवस्थामा रिपब्किन वा डेमोक्र्याट कुनै पनि दलले आफ्नो अडान छोडेका छैनन् । राष्ट्रपति ओबामाले गत वर्ष नोभेम्बर २० मा आफ्नो कार्यकारी अधिकार प्रयोग गर्नुभएको थियो र सोही अधिकार क्षेत्रका विषयमा न्यायाधीश ह्याननले आफ्नो मत व्यक्त गर्नुभएको हो । राष्ट्रपति ओबामाको उक्त आदेश उहाँलाई संविधानले दिएको अधिकारभन्दा बाहिर गएको भनी हालै निर्वाचित रिपब्लिकन सांसदहरू क्रुद्ध भएका थिए । न्यायाधीश ह्याननले यस विषयमा पूर्ण सुनुवाइ हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

कङ्ग्रेसले पारित गरेको कानुनलाई राष्ट्रपति ओबामाले आफ्नो कार्यकारी आदेशमार्फत तोडेकाले उहाँले आफ्नो राष्ट्रपतिको जिम्मेवारी परित्याग गरेको आरोप टेक्सासका रिपब्लिकन गभर्नर ग्रेग एबोटले लगाउनुभएको छ । उहाँले न्यायाधीश ह्याननले राष्ट्रपतिलाई आफ्नो मार्गबाट बाहिर जान रोक्न दिनुभएको निर्णय सही भएको बताउनुभएको छ ।

राष्ट्रपति ओबामाको कार्यकारी आदेशले हाल अमेरिकामा बसोबास गरिरहेका ४७ लाख गैरकानुनी आप्रवासीलाई उनीहरूकै देश फिर्ता पठाउनबाट जोगाउनेछ । यस आदेशले विशेष गरी अमेरिकी नागरिक भइसकेका वा अमेरिकामा कानुनी रूपमा स्थायी बसोबास गरिरहेका छोराछोरीका ४४ लाख आमाबाबुलाई उनीहरूको मुलुक फिर्ता पठाउनबाट जोगाउने लक्ष्य लिएको छ ।

सन् २०१२ को कार्यक्रमको विस्तारको रूपमा अमेरिकामा बालबालिकाको अवस्थामा गैरकानुनी रूपमा ल्याइएका दुई लाख ७० हजार व्यक्तिलाई पनि अमेरिकामा काम गर्न अनुमति दिने अवस्था बुधबार नै लागु हुने भएको थियो । आप्रवाससम्बन्धी वकिलहरूले राष्ट्रपति ओबामाको आदेशबाट आफ्नै मुलुक फिर्ता जानबाट जोगिन ४६५ अमेरिकी डलर शुल्क सहित निवेदन दिएका व्यक्तिहरूले आफ्नो निवेदन फिर्ता लिनसक्ने वा न्यायाधीश ह्याननको निषेधाज्ञा खारेज हुनेछ भन्ने आशामा त्यसलाई कायमै राख्नसक्ने धारणा राखेका छन् ।

राष्ट्रपति ओबामाको प्रशासनले उहाँको आदेशलाई अमेरिकी आप्रवास नीतिमा सन् १९८६ मा राष्ट्रपति रोनाल्ड रेगनको कार्यकालमा भएको परिवर्तनपछिको सबैभन्दा ठूलो परिवर्तनको रूपमा लिएको थियो । यसैले सन् २०१६ को अमेरिकी राष्ट्रपति पदको निर्वाचन अभियानमा आप्रवास नीति एउटा महत्वपूर्ण विषय हुने निश्चित देखिएको छ ।

अमेरिकामा प्रायः गैरकानुनी आप्रवासी मेक्सिको तथा अन्य ल्याटिन अमेरिकी मुलुकबाट आउँछन । यसैले गुआटामाल, हन्डुरस, एल साल्भाडोर र मेक्सिकोले आफूहरू न्यायाधीश ह्याननको आदेशबाट निराश भएको बताएका छन् । मेक्सिकोका विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति ओबामाको पाइला दशौँ लाख परिवारका लागि आप्रवास समस्याको सही समाधान भएको र त्यसले मेक्सिकोका आप्रवासीले अमेरिकी अर्थतन्त्र तथा समाजमा दिने महत्वपूर्ण योगदानलाई अझै बलियो बनाउने धारणा राखेको छ ।

सन् २०१३ मा संसदको माथिल्लो सभा सिनेटबाट दुबै दलका प्रतिनिधिको प्रयासको रूपमा पारित भएको आप्रवाससम्बन्धी कानुनलाई प्रतिनिधिसभाले रोकेको छ । राष्ट्रपति ओबामाको आप्रवास सम्बन्धी पाइलालाई कार्यान्वयन गर्न प्रशासनबाट आवश्यक प्रक्रिया पुरा नगरेको आरोप न्यायाधीश ह्याननले लगाउनुभएको छ । न्यायाधीश ह्याननले राष्ट्रपति ओबामाको आदेश केबल कानुनको परिपुरक हो र संशोधन होइन भनी पंशासनको अडान कपटपूर्ण भएको बताउनुभएको छ । उहाँले यसैका आधारमा राज्यहरूले दिएको निवेदन सही ठहरिने बताउनुभएको छ ।

उहाँले राष्ट्रपतिको पाइलाले आप्रवास नीतिमा व्यापक परिवर्तन गर्ने तथा त्यसको महत्वपूर्ण प्रभाव रहने बताउँदै त्यसले गैरकानुनी आप्रवासी र मुलुकको समग्र आप्रवास योजनालाई प्रभावित बनाउने र त्यसको ठूलो प्रभाव राज्यहरूले पनि भोग्नुपर्ने बताउनुभएको छ । राष्ट्रपति ओबामाले अमेरिका तथा क्युबा नीति तथा उहाँको स्वास्थ्य सेवाको कानुनमा परिवर्तन गर्न आफ्नो राष्ट्रपतिको अधिकारभन्दा बाहिर गएको पनि रिपब्लिकनहरूले आरोप लगाउने गरेका छन् ।

राष्ट्रपति ओबामाको आप्रवाससम्बन्धी पाइलालाई असफल बनाउने प्रयासमा रिपब्लिकनहरूले अझै हिस्पानिक मत गुमाउने तथा गृहराज्य सुरक्षाको कोष रोकेर आतङ्कवाद नियन्त्रण गर्ने प्रयासमा प्रभावित बनाउने आशङ्का राइटर समाचार संस्थाका लागि जेफ मेसन तथा रिचर्ड कोएनले व्यक्त गर्नुभएको छ । रिपब्लिकनहरूले गृहराज्य सुरक्षाको गम्भीर अभियानलाई भने आफूहरूले प्रभावित नबनाउने बताएका छन् । (स्रोत : विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्था तथा इन्टरनेटका सामग्री)