काठमाडौँ, ९ फागुन । लगातार ओरालो लागेको नेप्से परिसूचकमा यो साता पनि सुधार आउन सकेन ।
गत साता १.५१ अङ्कले घटेको परिसूचकमा यो साता पहिलो दिनको तुलनामा ७.२२ अङ्कले घटी अन्तिम दिन ९८२.६५ अङ्कमा पुगेको हो ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १६६ कम्पनीका सात हजार ५७५ कारोबारबाट रु ९४ करोड छ लाख ८७ हजारबराबरका २३ लाख तिन हजार ९१० कित्ता सेयर खरिद बिक्री भएका छन् ।
कारोबार रकममा यो गत साताको भन्दा ३४.२२ प्रतिशत कम हो ।
गत साता १७० कम्पनीको १२ हजार ८६२ कारोबारबाट एक अर्ब ४३ करोड सात लाख ४० हजारबराबरका ३४ लाख आठ हजार ४०० कित्ता सेयर खरिद बिक्री भएका थिए ।
यसैगरी समूहगत परिसूचकमा वाणिज्य बैंक, विकास बैंक, होटल, जलविद्युत् र बिमा समूहमा नकारात्मक परिवर्तन भएको छ भने वित्त र व्यापार समूह सकारात्मक छन् ।
उता उत्पादनमूलक समूह र अन्य समूहको परिसूचकमा भने कुनै परिवर्तन आएको छैन ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.६९ अङ्कले घटेर २०८.७६ अङ्कमा आइपुगेको छ ।
यस साता आठ करोड ५७ लाख ८० हजारबराबारको दुई लाख ६८ हजार कित्ता सेयर ४३९ पटक कारोबार गरी कारोबार रकम, सेयर सङ्ख्या र कारोबार सङ्ख्याका आधारमा प्रभु बैंक अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि तीन दिन खुला रह्यो ।
यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार नभएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।













प्रतिक्रिया