२ कार्तिक २०८३, सोमबार

पत्रकार बन्न अब परीक्षामा उर्तिण हुनुपर्ने ! फेल हुनेलाई नो चान्स

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Press Council

– विश्वराज पछल्डङग्या
नेपालगञ्ज, ७ फागुन । कानून ब्यवसाय संचालन गर्नका लागि वकिलले परीक्षा दिनुपर्ने प्रावधान जस्तै पत्रकारिता पेसा गर्न चाहनेले पनि परीक्षा दिने ब्यवस्था गर्न लागिएको प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्ण वहादुर कार्कीले बताएका छन् ।

नेपाल पत्रकार महासंघ बाँकेको संयोजनमा प्रेस काउन्सिल नेपालले विहीवार नेपालगन्जमा आयोजना गरेको ‘पत्रकार आचारसंहिता जागरण अभियान २०७१’ विषयक कार्यक्रममा बोल्दै उनले पत्रकारिता पेसालाई मर्यादित बनाउन पत्रकारिता परीक्षा लिने ब्यवस्था गर्न लागिएको बताएका हुन् ।

उनले पत्रकारिता क्षेत्र मर्यादित भएपनि एक–दुईजनाका कारण धुमिल्याउने काम भइरहेको बताए । उनले भने–‘एक गिलास सफा पानीमा एक थोपा मसी खन्याउँदा सवै पानी कालो भए जस्तै एक–दुईजनाले अमर्यादित काम गरेका कारण पूरै सञ्चार क्षेत्र धुमिलो भइरहेको छ ।’

पत्रकार आचारसंहिता अक्षरस पालना गरे मर्यादित र सुरक्षित हुने अध्यक्ष कार्कीको भनाई थियो । पूरानालाई पारिश्रमिक धेरै दिनुपर्ने भएकोले संचार गृहले नयाँलाई काम लगाउने गरेको उल्लेख गर्दै उनले समाचार लेखन र प्रसारणका क्रममा राजनीतिक गन्ध आउन नहुने औंल्याए । ‘राजनीतिक आस्था भए पनि ब्यवसायिक संचारकर्मीले समाचार लेख्दा राजनीतिक आस्थाभन्दा माथि उठ्न सक्नु नै महानता हो’–उनले भने ।

पत्रिका वर्गीकरणको मापदण्ड बैज्ञानिक नभएको औँल्याउँदै उनले समय अनुकुल बनाउन प्रेस काउन्सिलले नयाँ योजना ल्याइरहेको जानकारी दिए । उनले भने–‘वर्गीकरण गर्ने क्रममा दुर्गम र सुगममा रहेका पत्रिकालाई समान रुपमा हेर्ने नीति बैज्ञानिक छैन’–उनले भने ।

नेपाल बार एशोसियशनका उपाध्यक्ष टिकाराम भट्टराईले पत्रकार सुद्धिकरणको खाँचो औँल्याए । पत्रकार आचारसंहिताले पत्रकारिता पेशालाई मर्यादित बनाउन नसक्ने बताउँदै उनले मौजुदा आचारसंहिता अपुग भएको स्पष्ट पारे । ‘अचारसंहिता कार्यान्वयन गर्न बनेको संयन्त्रको अर्थ छैन । यसले कसैलाई कार्यान्वयन गर्न सक्ने अधिकार राख्दैन ।’

प्रेस काउन्सिलका सदस्य मनऋषि धितालले प्रेस काउन्सिलले सबै संचार गृहलाई समान रुपमा हेर्ने गरेको बताए । संचार गृहलाई आर्थिक सहयोग गर्दै आएको बताउँदै उनले काउन्सिलले दिने सुविधा लिन संचार गृहलाई आग्रह गरे ।

काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले मोफसलका पत्रिकाले समाचारभन्दा विज्ञापनले भरिने गरेको बताउँदै उनले यसले पाठकलाई मर्का पर्ने गरेको बताए । उनले मोफसलका केहि पत्रिकाले आचारसंहिताको उलंघन गरेको उजुरी प्रेस काउन्सिलमा उजुरी परेको जानकारी दिए । उनले भने–‘बाँकेको एक संचार गृहले सामाजिक सद्भाव भड्काएको आरोप सहितको उजुरी प्रेस काउन्सिललमा परेको छ ।’

समाचारमा त्रुटी भए वा खण्डन भए छाप्ने दायित्व संचार गृहको भएको उल्लेख गर्दै उनले प्रेस विज्ञप्तीलाई विज्ञापनको रुपमा प्रकाशन गर्न नहुने बताए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका पूर्व उप–सभापति हेमन्त कर्माचार्यले राजनीतिक भाग बण्डाको असर पत्रिका वर्गीकरणमा पर्न नहुने सुझाव दिए । उनले रेडियो र पत्रिकालाई एउटै वर्गमा राख्न नहुने बताए । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य झलक गैरेले पत्रकार आचारसंहिताको अनुगमन पत्रकार महासंघले समेत गरिरहेको जानकारी दिए ।

नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले राजनीतिक आस्थालाई समाचारमा नझल्काउन सुझाव दिए । उनले आचारसंहिता पालना नगर्ने पत्रकार आफै पलायन भइरहेको बताए । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त, संचार केन्द्रका प्रमुख रुपा विक लगायतले विचार राखेका थिए ।