काठमाडौं, ७ फागुन । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले कांग्रेस-एमाले सहमति विरोधी भएकाले संविधान जारी हुन नसकेको आरोप लगाउनुभएको छ ।
आफूहरु सहमतिबाटै संविधान बनाउन लागि परेपनि बहुमतीय दम्भको आडमा कांग्रेस-एमालेले २०४७ सालकै संविधान दोहोर्याउन खोजेको बताउनुभयो ।
‘परिवर्तनकारी शक्तीलाई पाखा लगाएर सत्तापक्षबाट २०४७ को संविधान ल्याउने षड्यन्त्र भइराखेको छ,’ उहाँले भन्नुभयो, ‘त्यसका विरुद्ध नै हामीले आन्दोलन गर्न लागेका हौं । सत्तापक्ष सहमतिबाटै सर्वअधिकार सम्पन्न संविधान बनाउन तयार भए आन्दोलन रोक्न सकिन्छ ।’
काँग्रेस र एमालेको नेतृत्वमा २०४७ सालको संविधान नयाँ ढङ्गले थोपर्न खोजिएको उहाँले आरोप लगाउनुभयो ।
विहीवार नवलपरासीमा सञ्चारकर्मीसँग कुरा गर्दै डा. भट्टराईले सहमतिमा संविधान बन्नुपर्नेमा जोड दिँदै सहमतिका लागि दबाब दिन आगामी फागुन १६ गतेपछि चरणबद्ध आन्दोलनमा उत्रिने बताउनुभयो ।
उहाँले नेपालमा बसोबास गर्ने मधेसी, दलित, जनजाति, धर्मसंस्कृत, भाषभाषी, महिला लगायतको अधिकार सुनिश्चित हुने खालको नयाँ संविधान आउनुपर्नेमा जोड दिनुभयो ।
















प्रतिक्रिया