काठमाडौँ, ६ फागुन । नेकपा एमालेको बुधबार बस्ने भनिएको स्थायी कमिटीको बैठक नेताहरुको व्यस्तताका कारण स्थगत गरिएको छ ।
एमालेले केन्द्रीय कमिटीमा सदस्य मनोनयन र कार्यविभाजनको निर्णय गर्न बुधबार दिउँसो बैठक बोलाएको थियो । पार्टीका नेता माधवकुमार नेपाल रौतहटका कार्यक्रममा व्यस्त रहनुभएकाले बैठक बस्न नसकेको एमालेले जनाएको छ ।
शीर्ष नेताको व्यस्तताका कारण आन्तरिक तयारीका लागि छलफल नपुगेको भन्दै चारदिनका लागि बैठक स्थगित गरिएको नेकपा एमालेका महासचिव इश्वर पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अब स्थायी कमिटीको बैठक फागुन १० गते बस्नेछ ।
यसअघि यही फागुन ४ गतेको स्थायी कमिटीको बैठकले ती विषयलाई अन्तिम रूप दिन पार्टीका शीर्षनेतालाई जिम्मा दिएकोमा मङ्गलबार पार्टीका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा शीर्षनेता सम्मिलित कार्यदलको छलफल भएपनि सहमति हुन सकेको थिएन ।
सोमबारको बैठकमा केन्द्रीय कमिटीमा मनोनयनका लागि महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत मापदण्ड र नामावलीमाथि विभिन्न प्राप्त सुझाव र नामावलीको सूचीभित्रबाट वरिष्ठता, योग्यता–क्षमता, समावेशिता, क्षेत्रीय सन्तुलन र दलको कामको आवश्यकताका आधारमा मनोनयन गरिने जनाइएको थियो ।
सो सूचीलाई अन्तिम रूप दिन अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव पोखरेललाई जिम्मा दिइएको थियो । एमालेको विधानमा केन्द्रीय कमिटीमा १० प्रतिशतसम्म मनोनयन गर्न सकिने व्यवस्था छ ।
यस्तै, केन्द्रीय सदस्यको कार्यविभाजनसम्बन्धी प्रस्ताव तयार गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी तोकिएपनि हालसम्म जिम्मेवारी दिइएको छैन । एमालेमा गत असारमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय कमिटीमा मनोनयन र कार्यविभाजन हुन बाँकी छ ।
यस्तै, एमालेमा पाँच सदस्यहरुलाई नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । जसमा घनेन्द्र बस्नेत, देवराज घिमिरे, केदार न्यौपाने, कृष्णगोपाल श्रेष्ठ र देवशंकर पौडेललाई केन्द्रीय सदस्य बनाउन ओली र नेपाल दुवै पक्षबीच सहमति भएको एमाले स्रोतले जनाएको छ ।















प्रतिक्रिया