
– अनिल खत्री
गुल्मी, ६ फागुन । गुल्मीका नागरिकले अब चार दिनको यात्रालाई चार घण्टामै पूरा गर्न पाउने भएका छन् । सदरमुकाम पुग्न चार दिन लाग्ने गाउँमा रुद्राबेनी-अर्वेनी सडक निर्माण भएपछि नागरिकले चार घण्टामै यात्रा पूरा गर्न पाउने भएका हुन् । वर्षौदेखि सिधा सडक नहुँदा सदरमुकाम तम्घास आउन ४ दिन यात्रा गर्नुपर्ने गुल्मी क्षेत्र १ नंंम्बर का जनताको सपना पुरा भएको हो ।
काली–गण्डकी कोरिडोर अन्तर्गत रुद्राबेनी-अर्वेनी सम्मको २२ मिलोमिटर सडक नेपाली सेनाले निर्माण गरेपछि चारदिन लाग्ने गाउँमा यातायात पुगेको छ । नेपाली सेनाले ३ महिना लगाएर सडक निर्माण गरेको हो । गरेको बाटो मात्रै भएको पुर्तिघाटसम्म सेनाले सडक फराकिलो बनाएपछि यातायात सेवा पुगेको हो ।
नेपाली सेनाले ३ महिना लगाएर निर्माण गरेको रुद्राबेणी-अर्वेनी सम्मको २२ किलोमिटर सडकको नेकपा एमालेका केन्द्रीय सचिव एवं पुर्वमन्त्री, सभासद् गोकर्णराज बिष्टले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै सचिव बिष्टले नेपालमा ठुलाठुला आयोजनाहरु सञ्चालनमा आएपनि समयमा निर्माण कार्य सम्पन्न नहुनु तथा गुणस्तरीय काम नहुनाले विकासले गतिलिन नसकेको बताउनुभयो ।
ठुलो आयोजनाले निकै जोखिमपुर्ण अवस्थामा कडा चट्टानलाई छिचोल्दै छोटो समयमा यति धेरै काम सम्पन्न गरेकोमा नेपाली सेनालाई सचिव विष्टले धन्यबाद समेत दिनुभयो । उहाँले नेपाली सेनाले तोकिएको समय भन्दा अगावै छोटो समयमा महत्वपुर्ण काम गरेको प्रति खुशी व्यक्त गर्दै विकास निमार्णको सवालमा यो कार्यबाट सबैले सिक्नुपर्ने धारणा राख्नुभयो ।
काली-गण्डकी कोरिडोर अन्तर्गत यो सडकले वर्षौ देखि सदरमुकाम सम्म पुग्न निकै सास्ती खेप्नु पर्ने क्षेत्र नं. १ का जनतालाई अब भने राहत मिल्ने बताउनुभयो । काली-गण्डकी कोरिडोर अन्र्तगत गुल्मीलाई वाग्लुङ हुदै चीनसम्म जोडिने सडक भएकाले यो सडक निकै ठुलो र दिर्घकालिन सडक रहेकाले सडकलाई पुरा गर्न आफनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सदरमुकामसंग सिधा सडक नजोडिदा यहाँका नागरिकले चार दिनको पैदल यात्रा गर्थे । सडक निर्माण भएपछि गुल्मी क्षेत्र नं. १ अन्र्तगत सिधा सडक नपुगेका गाविसहरु पुर्तिघाट, खडकोट, अर्वेनी लगायत झण्डै १ दर्जन गाविसका नागरिकहरु लाभाम्वित भएका छन् ।
यी गाविसका नागरिकले चार घण्टामै सदरमुकाम पुग्न सक्ने काली-गण्डकी कोरिडोर सरोकार समितिका केन्द्रीय सदस्य एवं प्रवक्ता टिकाराम ढकालले बताउनुभयो । ढकालले भन्नुभयो ‘प्रशासनिक कामले मात्र त्यस क्षेत्रका जनतालाई सदरमुकाम आउनुपर्ने बाध्यता थियो तर अन्य कामले भने सदरमुकाम आउदा निकै कष्ठ हुन्थ्यो । अब सडक जोडिएपछि दिनदिनै सदरमुकाम आउन सक्छन् ।’
यातायातबाट गुल्मी आउनु पर्दा पहिले गुल्मीका जनतालाई नै पर्वत, स्याङ्गजा, पाल्पा हुदै गुल्मी आउनुपर्ने बाध्यता थियो । यो सडक सुचारु भएसंगै वाग्लुङ्ग जिल्लाका ११ गाविस, गुल्मी जिल्लाका १० गाविस र स्याङजा जिल्लाका ६ गाविसका जनतालाई बुटवल तम्घासको लागी यात्रा निकै छोटो हुने बताउनुभयो ।
सडक सूचारु भएसंगै अब भने पुर्तिघाटबाट बुटवल १ सय ४ किलोमिटरको यात्र पछि पुग्न सकिनेछ । पुर्तिघाटबाट वुटवल पुग्ने यात्रा अब तम्घासबाट भन्दा पनि छोटो हुने काली-गण्डकी कोरिडोर समितिका कोषाध्यक्ष कौशल पोखरेलले बताउनुभयो । हाल रुद्राबेनी देखि अरबेनीसम्म यातायात पुगेपनि अब ३ किलोमिटर बाटो सुधार गरियो भने पुर्तिघाट सजिलै पुग्न सकिने उहाँको भनाई छ ।
सडक सुचारु भएसगै यस क्षेत्रमा पर्ने सेतीबेनी लगायत कलिगण्डी ड्याम बिभिन्न धार्मिक तथा पर्यटकिय स्थलहरुको महत्व बढने पोखरेलको भनाई छ । अब ३ करोड रकम भए पुर्तिघाट पुग्ने र वर्षातको समयमा पनि सजिलै यातायात चल्ने पोखरेलले बताउनुभयो ।
रूद्रावेणी देखि अर्बेनी सम्म सडकमा अत्यन्तै ठुला कडा चट्टान पर्दा काम गर्न निकै कष्ट भएपनि काम समय अगाबै सकिएको बाटो निमार्णको जिम्मा लिनु भएका नेपाली सेनाका कर्नेल रेश्मीराज भट्टराईले बताउनुभयो । नेपाली सेनाले बाटो निमार्णका लागि चार महिनाको समय दिइएपनि एक महिना अगावै निमार्ण कार्य सम्पन्न गरेका छन् ।
रूद्रावेणीदेखि अर्बेनी सम्म चल्ने यातायातलाई केहि ठाउँमा ठुला चट्टानलाई बलास्टीङ्ग गरेर मिलाईएकोले रातीमा सवारी साधन सुचारु गर्न नहुने कर्नेल भट्टराईले बताउनुभयो । सेनाले निर्माण गरेको सडक सेनाको नभई जनताको सडक भएकाले यसलाई सबैले संरक्षण गर्नुपर्ने कर्नेल भट्टराईको भनाई छ ।
कतिपय स्थानको सडकमै पानी लगाईदिने काम समेत गरेकाले सबैले संरक्षण गर्न आग्रह समेत गर्नुभयो ।
सेनाले ९ करोड ७६ लाख कुल भए पुर्तिघाट सम्म पुग्न खर्च अनुमान निकालेको थियो । जस मध्ये २२ किलोमिटर ५ करोड भन्दा बढी लागतमा सेनाले उक्त बाटो चौडा पार्ने र ग्रेड मिलाउने काम सम्पन्न गरेको हो ।
अब ३ करोड भए पुर्तिघाट सम्म सडक पुर्याउने र वर्षातको समयमा पनि चल्न सकिने गरी निर्माण गर्न सकिने कर्नेल भट्टराईको भनाई छ ।
सडक उद्घाटन सगै सवारी साधनहरु (जीप बस) अर्वेनी सम्म पुगेका थिए । भने स्थानियवासीले खुसी व्यक्त गरेका थिए । सेनाले गत असोजमा रिडी देखि रूद्रावेणी अन्तर्गत साघुरेमा साढे ८ किलोमिटर सडकलाई चौडा पारेपछि वर्षौदेखिको त्रास हटाउने काम पनि गरेको थियो ।
५ करोड ८० लाखमा नेपाली सेनाले उक्त बाटो चौडा पार्ने जिम्मा लिएको थियो । सेनाले सो काम पनि समय अगाबै सम्पन्न गरेका थियो ।















प्रतिक्रिया