१० कार्तिक २०८३, मंगलबार

बहुमतीय दम्भको प्रक्रिया नरोक्दासम्म सहमति हुन्न : नेता भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-bhattaraiप्यूठान, ६ फागुन । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले संविधान निर्माणमा सुरु गरिएको प्रक्रिया नरोकेसम्म वार्तामा नबस्ने बताउनुभएको छ ।

“पूर्व–पश्चिम एकैपटक हिँड्न सकिँदैन”, नेता भट्टराईले भन्नुभयो– “वार्ता पनि गर्छौ भन्ने र प्रक्रिया पनि सुरु गर्ने गरी उहाँहरु पूर्व लाग्नुभयो । हामी पश्चिमतर्फ लाग्यौँ” पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता भट्टराईले माघ ११ गतेको बहुमतीय दम्भ प्रक्रिया नरोक्दासम्म सहमति नहुने र आफूहरु वार्तामा नबस्नेसमेत बताउनुभयो ।

परिवर्तनकारी संविधान निर्माणमा दबाब दिन भन्दै एमाओवादीले सुरु गरेको खबरदारी अभियानअन्तर्गत बुधबार सदरमुकाम खलङ्गामा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पुरानै संविधान ल्याउन खोजेका कारण समस्या आएको समेत बताउनुभयो ।

शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला नहुुनु र माधव नेपाल पनि शक्तिमा नहुँदा सहमति गर्न नसकिएको भट्टराईको भनाइ छ । नेता भट्टराईले बाह्रबुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको भावनाअनुसार आन्दोलनकारी शक्तिबीच सहमति गरेर नयाँ संविधान जारी गर्नुको विकल्प नभएको समेत बताउनुभएको छ ।

“शान्ति सम्झौताका हस्ताक्षरकर्ता कांँग्रेस, एमाले र माओवादीबीचमा अनिवार्य सहमति हुनुपर्छ” उहाँले भन्नुभयो । “परिवर्तनकारी शक्तिसँग प्रक्रिया सुरु गरी बनाएको संविधान नेपाली जनतालाई मान्य हुँदैँन ।”

संविधानसभाअन्तर्गत संवाद समितिका सभापति समेत रहनुभएका भट्टराईले भन्नुभयो– “संवाद समितिले विगत १० महिनादेखि निरन्तर सहमति र वार्तालाई नै प्रमुख विषय बनाएको छ ।” प्रधानमन्त्री सुशील कोइरालाले वक्तव्य जारी गरी वार्तामा आउन आग्रह गर्नु सकारात्मक भए पनि प्रक्रिया जारी राख्नु परिवर्तनकारीको हित विपरीत हरेको उहाँले बताउनुभयो ।

संविधान निर्माणमा अल्पमत र बहुमतको विषय नहुँने भन्दै नेता भट्टराईले संवाद सहमतिले राज्य पुनःसंरचना, न्याय प्रणाली र शासकीय स्वरुपमा हालसम्म कुनै पनि सहमति गर्न नसकेको समेत दाबी गर्नुभयो ।

काँग्रेस, एमालेले सहमतिका लागि केही विषयमा त्याग गर्न तत्पर भए आफूहरु पनि लचिलो बन्न तयार रहेको उहाँले बताउनुभयो ।  रासस