३० आश्विन २०८३, शुक्रबार

के हो प्रचण्ड–सुमार्गी कनेक्सन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda_sumargi

काठमाडौँ, ६ फागुन । मुलुकका विभिन्न बैंकमा पछिल्लो केही महिनादेखि अर्बौं रूपैयाँ अलपत्र थुप्रिएको छ । रकमको हकदाबी गर्नेहरूले पर्याप्त प्रमाण जुटाउन नसक्दा अर्बौ रुपैयाँ बैंकमा अलपत्र परेको हो । उता स्वीट्जरल्यान्डका बैंकमा पनि सीमित नेपालीले अर्बौं रूपैयाँ थुपारेको खबर बाहिर आइसकेको छ । त्यसैगरी अमेरिकी महाद्विप नजिकैको क्यारेबियन सानो टापु मुलुक ब्रिटिस भर्जिन आइल्यान्डबाट कुनै आर्थिक तथा राजनीतिक साइनो नभएको नेपालमा भटाभट विदेशी लगानीको रूपमा १० औं अर्ब रूपैयाँ भित्रिएको छ । यी तीन पक्षलाई छुट्टाछुट्टै हेर्ने हो भने, यो अर्थतन्त्र र वित्तीय प्रणालीको एउटा सामान्य चक्र हो । तर, अन्तर्राष्ट्रिय वित्त, कर र आम्दानीको स्रोतलाई केलाउँदा हाम्रो जस्तो सीमित अर्थतन्त्र भएको मुलुकमा यति धेरै रकम किन र कसरी भित्रिरहेको छ भन्ने आशंका पैदा हुनु स्वभाविकै हो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग व्यापारिक लाभको उद्देश्यले निकट रहेका भनिएका व्यापारी अजय सुमार्गी र उनका विभिन्न व्यापारिक प्रतिष्ठानको नाममा आएको उक्त रकमको पृष्ठभूमिलाई केलाउनुपर्ने देखिएको छ ।

मुलुकमा विदेशी लगानी भित्रिनु राम्रो कुरा हो । तर त्यो पारदर्शी हुनपर्दछ । विश्वमा कुनै पनि देश र त्यसका जनता त्यत्ति मुर्ख छैनन् जसले आफ्नो करोडौं डलर हावाको भरमा अन्यत्र लगानीका लागि पठाओस् । अझ त्यसमा पनि हाम्रो जस्तो राजनीतिक अस्थिरताले आक्रान्त र स्वस्थ औद्योगिक वातावरण नभएको देशमा किन नामै नसुनिएको मुलुकबाट १० औं अर्ब रूपैयाँ आउँछ ? त्यो पनि सम्पूर्ण प्रमाण र कागजातको अभावमा पठाइन्छ । केन्द्रीय बैंक र उद्योग विभागले माग गरेको कागजात ती रकमको भुक्तानी पाउनुपर्ने व्यक्ति वा संस्थाले किन पेश गर्न सक्दैनन् ? यस्ता धेरै प्रश्न पछिल्लो केही महिनादेखि हाम्रो वित्तीय बजारमा उठ्न थालेको छ । यसमा विशेषगरी, नेपालमा राजनीतिक स्थीरता नभएको पछिल्लो आठ वर्षदेखि व्यापारी अजय सुमार्गीको नाममा मात्र किन विदेशी लगानी आउने गरेको छ ? त्यस्तो विदेशी लगानी पनि किन नामै नसुनिएका मुलुकका नामै नसुनिएका कम्पनीको तर्फबाट नेपाल भित्रिन्छ ? भन्ने प्रश्नले यतिखेर मुलुकको वित्तीय क्षेत्रका जानकारको मथिंगल घुमेको हुनुपर्दछ ।

दृष्टि साप्ताहिक लेख्छ – आइतबार संसदीय समितिमा यसबारे बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले भने ‘नामै नसुनिएका देशबाट नामै नसुनिएका कम्पनीले नामै नसुनिएका नेपालका कम्पनीहरूमा रकम ओइराइरहेका छन्, किन हो बुझ्न सकिएको छैन ।’ यसैबीच विश्वमा सबैभन्दा सुरक्षित र गोप्य बैंकिङ्ग सेवा प्रदान गर्ने स्वीट्जरल्यान्डका बैंकमा मुलुकका आधा दर्जनभन्दा बढी व्यक्तिले करोडौं डलर जम्मा गरेको विवरण पनि बाहिर आइसकेको छ । स्वीटजरल्यान्डका बैंकमा विश्वमा सबैभन्दा बढी कालोधन कमाउनेहरूले रकम जम्मा गर्ने गर्दछन् । नेपालीले त्यहाँ जम्मा गरेको भनिएको ५ करोड डलरका निक्षेपकर्ताले नेपालबाट अनुमति लिएका छन् की छैनन् ? ती निक्षेपकर्ता वास्तविक हुन् वा अवास्तविक ? ती बैंकबाट नेपाल आएको भनिएको ब्रिटिस भर्जिन आइल्यान्डका बैंकमा रकम ट्रान्सफर हुने गरेका छन् की छैनन् ? यस्तो दोहोरो अवस्थालाई नजिकबाट अध्ययन गर्ने हो भने नेपालबाट गैरकानुनी रूपमा स्वीटजरल्यान्डमा पैसा थुपार्ने र त्यहाँबाट अन्यत्र रकम पठाएर वैधानिक रूपमा नेपाल भित्र्याउने गरेको वास्तविकता पत्ता लाग्न सक्छ । तर नेपालमा आएको भनिएको ब्रिटिस भर्जिन आइल्याण्डको लगानी र स्वीटजरल्यान्डमा थुपारिएको भनिएको रकमलाई राजनीतिक उच्च तह र नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयले गम्भीर रूपमा नलिएसम्म सुमार्गीजस्ता साम, दाम र दण्डको भरपुर प्रयोग गर्नेहरूले ती रकमलाई विगतमा झैं वैध बनाउनसक्ने देखिएको छ ।

उच्च स्रोतका अनुसार स्वीटजरल्यान्डलगायतका मुलुकमा रकम थुपार्ने केही व्यक्ति वास्तविक सञ्चयकर्ता नै नभएको केही संकेत प्राप्त भइसकेको छ । उनीहरूलाई खेतालाको रूपमा आंशिक आम्दानीको लोभमा अवैध रकम जम्माको लागि प्रयोग गरिएको हुनसक्छ । त्यसैले ब्रिटिस भर्जिन आइल्यान्डका बैंकबाट नेपाल ल्याइएको भनिएको रकमको सबैभन्दा पहिले त्यसको स्रोत पत्ता लगाउन सक्नुपर्दछ । अन्यथा, यसको कुनै तुक हुने छैन । पछिल्लो तथ्याङ्कअनुसार उक्त मुलुकबाट मात्र नेपालमा ल्याउन खोजिएको लगानी रकममध्ये झण्डै ६ अर्बको प्रतिबद्धता आइसकेको छ । यसअघि अरु ३ अर्ब आइसकेको छ । त्यसमध्ये ग्रान्डी अस्पताल र भैंसेपाटीमा खोल्न लागिएको मेडिकल कलेजको लागि भनेर झण्डै १ अर्ब २० करोड आएको छ । तर अन्य सबै लगानी अजय सुमार्गीको मुक्तिश्री समूहका विभिन्न व्यापारिक प्रतिष्ठानको निम्ति ल्याइएको हो । अहिले नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा थुप्रिएको झण्डै साढे तीन अर्ब रूपैयाँ पनि तिनै सुमार्गीको नाममा आएको देखिन्छ । विगतमा विभिन्न पहुँचका आधारमा राजनीतिक संक्रमणकालको फाइदा उठाउँदै सुमार्गीले रकम मुलुक भित्र्याएका थिए । तर यसपटक पर्याप्त कागजात पेश गर्न नसकेपछि ती रकम बैंकमै अलपत्र परेका हुन् । स्रोतका अनुसार सुमार्गी यतिखेर राजनीतिक नेतृत्वको दबाबले नपुगेपछि नयाँ गभर्नर नियुक्तिमा चलखेल गरेरै भए पनि आफू अनुकूलको गभर्नर नियुक्त गरेर साढे तीन अर्ब कुम्लाउने योजनामा पुगेको सुमार्गी निकट स्रोत बताउँछ ।