काठमाडौँ, ४ फागुन । नेपालमा हिन्दू राष्ट्रको लबिङ गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता दलका शीर्ष नेताहरु काठमाडौंमा आइपुगेका छन् ।
सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) का केन्द्रीय उपाध्यक्ष श्रीमती रेणुदेवीको नेतृत्वमा उच्चस्तरीय भारतीय राजनीतिक टोली काठमाडौ आइपुगेको हो । नेपाल भारत सहयोग मञ्चको निमन्त्रणमा नेपाल आएको टोलीमा बीजेपीका वरिष्ठ नेताहरु, भारतका विभिन्न प्रदेशका विधायकहरु, सांसद लगायत छन् । सोमवार पशुपति क्षेत्रस्थित माघवराज सुमार्गी स्मृति भवनमा उदघाटन हुने नेपाल भारत सहयोग मञ्चको विशेष समारोहमा उनीहरु सहभागी हुनेछन् ।
नवगठित नेपाल भारत सहयोग मञ्चको उदघाटन एव विशेष समारोहलाई वीजेपीकी केन्द्रीय उपाध्यक्ष रेणुदेवी र नेपालका पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा नेपाली काँग्रेसका नेता खुमबहादुर खड्का लगायतका नेताहरुको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।
नेपालमा पछिल्लो पटक धर्मनिरपेक्ष संस्थागत हुन नसकिरहेको र हिन्दू राष्ट्र निर्माणको अभियान तीब्र भइरहेको बेलामा सत्तारुढ बीजेपीको नेतृत्वमा उच्चस्तरीय राजनीतिक टोलीको नेपाल आगमनलाई बिशेष महत्वका साथ हेरिएको छ ।
बहुसंख्यक नेपाली जनता हिन्दु राष्ट्रको पक्षमा उभिएको भन्दै नवगठित नेपाल भारत सहयोग मञ्चले धार्मिक स्वतन्त्रता सहित नेपालमा हिन्दु राष्ट्र स्थापनामा विशेष भूमिका निर्वाह गर्ने बताइएको छ ।















प्रतिक्रिया